२०८१ असोज ४, शुक्रवार , ०७:०७:५४ बजे

Sajhamanch
'

कोरोना भाइरसको कारण ओलाङचुङगोला नाका बन्द

बुधवार, माघ २२, २०७६

ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गरेको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । १६ माघदेखि चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले जानकारी दिए । नाका बन्द हुँदा एक÷दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् ।

बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् । सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ ।

सम्बन्धित खबर