२०८१ असोज ४, शुक्रवार , ११:१२:०८ बजे

Sajhamanch
'

निःशुल्क औषधी सेवनले झापामा हात्तीपाइले रोगको संक्रमण दर घट्तै

आइतवार, माघ १९, २०७६

अन्तिम पटक यही माघ २५ देखि जिल्लाभर औषधी वितरण गरिँदै

झापा । हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ ।

औषधी सेवनपछि यसको सकारात्मक प्रभावलाई नकारात्मक असर भनी दुष्प्रचार गरिदिँदा सर्वसाधारणमा भ्रम उत्पन्न भई औषधी सेवनकर्ता घटे पनि ज जसले खाए तिनका कारण संक्रमण दर घटेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सन् २००१ मा २४ प्रतिशत रहेको संक्रमण दर २०१५ मा ४ दशमलव १६ मा र २०१७ मा २ दशमलव ४ मा झारिएको जनाएको हो । विगत ८ वर्षदेखि नियमित औषधी सेवन गराउँदा हात्तीपाइले रोग न्यूनीकरण भएकोले यो वर्ष पनि निःशुल्क औषधी वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले अरु धेरै कुरामा झापा अगाडि रहेपनि हात्तीपाइले रोग न्यूनीकरणमा पछि परेको यथार्थ सुनाए । ‘देशका ६३ वटा जिल्लामा हात्तीपाइले रोगीहरु पाइए पछि औषधी खुवाउने कार्यक्रम थालिएकोमा ५० वटा जिल्लाले पाँच डोजमा नै कोर्श पूरा गरेर लक्ष्य भेट्टाएका छन् । तर झापा, मोरङ, धनकुटासहित १३ जिल्लामा यो वर्ष पनि औषधी खुवाउने कार्यक्रम जारी राख्नुपर्ने कारण भनेको पूर्वेलीहरुका लागि दुःखद कुरा हो’ कार्यालय प्रमुख पौडेलको भनाई छ ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यक्रम संयोजक जीवन चौंलागाईंले २० वर्षको कार्यक्रम अवधिमध्ये नेपालमा सन् २००९ बाट औषधी खुवाउन सुरु गरिएको र अब देशभर १ दशमलव ४७ प्रतिशतमात्र संक्रमण दर रहेको तथ्याङ्क प्रस्तुत गरे । प्रतिहजार १ भन्दा कम गर्न सकियो भनेमात्र निवारणको अर्थ रहने भएकाले जिल्लाभरका ८ लाख मानिसले नै औषधी सेवन गरिदिन आग्रह गरे ।

यही माघ २५ गतेदेखि हरेक पालिका र वडा कार्यालयबाट स्वास्थ्यकर्मीहरु घरघरमा, कार्यालयहरुमा, विद्यालय एवम् शिक्षण संस्थाहरुमा नै आएर औषधी खुवाउने कार्यक्रम तय भएकाले हात्तीपाइले रोगबाट बच्न वर्षमा एक पटक एक डोज औषधी खान कार्यक्रम संयोजक चौंलागाईंले आव्हान पनि गरे । विश्व स्वास्थ्य संगठनले हात्तीपाइले रोग निवारणका लागि गुणस्तरीय औषधी उपलब्ध गराएकाले निसंकोच औषधी खान उनको आग्रह छ ।

हात्तीपाइले रोग लागिसकेपछि औषधी सेवन गर्नुको कुनै अर्थ नरहने जनाउँदै कार्यक्रम संयोजक चौंलागाईंले औषधी खान आनाकानी गरेर संक्रमणमा परेका वा औषधी वितरण हुनुभन्दा पहिलेदेखि नै संक्रमण भइसकेका ५५४ जना मानिसहरु झापामा रहेको तथ्याङ्क पनि सुनाए ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वभरबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरेपछि निःशुल्क औषधि वितरणबाट न्यूनीकरण गर्न सफल भएको हो । प्रारम्भिक तथ्याङ्क अनुसार विश्वका ५० देशका ८५ दशमलव ६ करोड मानिसहरु सो रोगबाट प्रभावित भएको पाइए पछि विश्व स्वास्थ्य संगठनले यस्तो कार्यक्रम अघि सारेको थियो ।

तथ्याङ्क अनुसार दक्षिणपूर्वी एशियाका ११ देशका १२ करोड मानिसहरु हात्तीपाइले रोगबाट संक्रमित रहेका थिए भने तीमध्ये ४ करोड मानिस अंगभंग अवस्थामा रहेकोे पाइन्छ । विगत २० वर्षदेखिको निरन्तर प्रयासबाट विश्वका धेरै देशले हात्तीपाइले रोग निवारण गरिसकेका छन् । तर नेपालमा भने जाने बुझेकाहरुले नै औषधी सेवन नगर्ने अनि सेवन गर्न चाहनेहरुलाई पनि अफवाह फैलाएर रोक्ने दुष्कर्मले कार्यक्रम सफल हुन नसकेको बताइन्छ ।

सम्बन्धित खबर