२०८१ असोज ३, बिहिवार , १०:४१:१४ बजे

Sajhamanch
'

एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबलको उपाधि सुनसरीलाई

शुक्रवार, माघ १०, २०७६

कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो ।

बेष्ट अफ फाइवको विधिबाट गराइएको प्रतियोगितामा सुनसरीले १९–२५, २५–१६, २५–२३ र २७–२५को सेटमा सोलुखुम्बुलाई पराजित गरेको हो । प्रतियोगितामा विजयी टिम सुनसरीले नगद एक लाख एक हजार ११ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजयी टिम सोलुखुम्बुले नगद ५१ हजार १११ रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएर घर फर्कनु पर्यो ।

एनएमसी झापाले विजयी र उपविजयीलाई प्रदान गरिएको नगद पुरस्कार प्रायोजन गरेको थियो भने अन्य विधाका पुरस्कारहरु विभिन्न वित्तीय संस्थाले प्रायोजन गरेका थिए । सुरुङ्गा जेसीजको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति र रोटरी क्लब अफ सुरुङ्गाको सहआयोजनामा माघ ७ गतेदेखि सुरु भएको एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगितामा झापा र आयोजक सुरुङ्गा जेसीजको टिमसहित १२ वटा टिमले प्रतिष्पर्धा गरेका थिए ।