२०८३ जेठ १५ शुक्रवार , ०९:३९:४७ बजे

Sajhamanch
'

सिम्रिक साकोसद्वारा १ लाख १० हजार ५७१ रुपैयाँ ऋण मिनाहा

शुक्रवार, जेठ १५, २०८३

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकजना ऋणि सदस्यको आकस्मिक मृत्यु पछि आज शुक्रबार परिवारजनलाई भेटेर निजको नाममा बाँकी रहेको ऋण मिनाहाको पत्र हस्तान्तरण गरेको छ ।

मुख्य कार्यालयका विभागीय प्रमुख प्रेम बस्नेत (विजय)को नेतृत्वमा चारआली सेवा केन्द्र प्रमुख विष्णुबहादुर कार्की र कर्मचारीहरुसहित मेचीनगर ११ धाइजनस्थित मृतक मञ्जुर आलम मियाको निवासमा नै पुगेर ऋण मिनाहाको पत्र परिवारजनमा हस्तान्तरण गरिएको हो ।

सिम्रिक साकोसले गतवर्ष जेठ ७ गते मञ्जुर आलमको नाममा १ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको थियो । मोटरसाइकल ग्यारेज सञ्चालन गरिरहेका निजले नियमितरुपमा ऋणको सावाँ किस्ता र ब्याज बुझाइरहेको अवस्थामा १८ दिन पहिले उहाँको आकस्मिक निधन भएपछि संस्थाले बाँकी रहेको ऋण रकम १ लाख १० हजार ५७१ रुपैयाँ मिनाहा गरिदिएको हो ।

संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले मृतक आलमका बुवाआमा, भाइहरु तथा परिवारजनको उपस्थितिमा संस्थाले तयार गरेको ऋण मिनाहाको पत्र वाचन गर्दै स्वर्गीय आलमकी पत्नी शर्मिला खातुनलाई हस्तान्तरण गर्नुभएको हो । संस्थाले आलमलाई प्रदान गरेको ऋणको बीमा गरिएकोले बाँकी रहेको ऋण मिनाहा गर्न सम्भव भएको बस्नेतले जानकारी दिनुभयो ।

विपन्न मुस्लिम समुदायका आलमको निधन पछि उनका चारजना सन्तान र श्रीमतीको रेखदेख बृद्ध आमाबुवाको काँधमा आइलागेको छ । यस्तो प्रतिकूल समयमा संस्थाले ऋण मिनाहा गरिदिएर परिवारको मात्र होइन मुस्लिम समुदायप्रति नै न्याय गरेको मृतकका बुवाको भनाई छ ।

सम्बन्धित खबर