
झापा । बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय ‘गभर्मेन्ट कम्युनिकेशन हेडक्वार्टर्स’ (जीसीएचक्यू) ले सन् २०२२ मा शुरू भएको युक्रेनसँगको युद्धमा झन्डै ५ लाख रुसी सैनिक मारिएका दाबी गरेको छ । युक्रेनमा पूर्णस्तरको आक्रमणपछि ५ लाख रुसी सैनिकको ज्यान गएको एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गुप्तचर निकायकी प्रमुख एन किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक भाषणमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको खबरमा उल्लेख छ । उहाँले बेलायती भूमिमा धेरै जासुसी षड्यन्त्रहरूको पछाडि रुसको हात रहेको र पछिल्ला वर्षहरूमा बेलायतसहित अन्य नेटो देशहरूविरुद्ध अघोषित ‘हाइब्रिड युद्ध’ चलाएको आरोप पनि लगाउनुभयो ।
रुस र युक्रेन दुवैले समय–समयमा एकअर्काको सैन्य क्षतिको तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् तर आफ्नै क्षतिको बारेमा विस्तृत जानकारी दिएका छैनन् ।
यद्यपि गएको फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ देखि ५५ हजार युक्रेनी सैनिक मारिएको बताउनुभएको थियो ।


