२०८३ जेठ १३ बुधवार , ०७:२७:३९ बजे

Sajhamanch
'

मनसुन आउनै लाग्दा लामो सुक्खाको जोखिम

बुधवार, जेठ १३, २०८३

काठमाडौं । यस वर्ष मनसुन आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ ।

यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको ’एल निनो’ हो । ’एल निनो’ भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो । यसको असरले दक्षिण एशियामा मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ ।

अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जुनदेखि अगस्टभित्र ’एल निनो’ विकास हुने सम्भावना ६२ प्रतिशत छ । विश्व मौसम सङ्गठनले पनि यस वर्ष दक्षिण एशियाको धेरैजसो भागमा औसतभन्दा कम वर्षा हुने आकलन गरेको छ ।

यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद् डा. केशवप्रसाद शर्माले बताउनुभयो । सरकारी निकायहरूले सिँचाइ व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

जल तथा मोसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ । तर स्वतन्त्र विज्ञहरूले यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेषगरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन् ।

सम्बन्धित खबर