
झापा । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ ।
अप्रिलमा चीनले २ लाख ७८ हजार ८१ वटा विद्युतीय गाडीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर, डेटा, मिडिया र प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । योसँगै यस वर्षको अहिलेसम्म चीनले ८ लाख ९३ हजार ८५२ वटा विद्युतीय गाडी निर्यात गरेको छ ।
चिनियाँ विद्युतीय गाडी सबैभन्दा धेरै एशियामा १ लाख १० हजार ६१३, युरोपमा ८३ हजार ८१३ र ल्याटिन अमेरिकामा ५२ हजार ८९७ वटा निर्यात भएको छ । तथ्याङ्क अनुसार ओशिनियाले २२ हजार ६९५ र उत्तर अमेरिकाले ४ हजार ४२२ वटा गाडी आयात गरेको छ ।
ब्राजिलमा चिनियाँ विद्युतीय गाडीको आयात २२१ प्रतिशतले बढेर ३८ हजार १४४ वटा पुगेको छ । दक्षिण कोरिया, जर्मनी र अस्ट्रेलियामा पनि आयात १०० प्रतिशतदेखि १९० प्रतिशतसम्म बढेको छ ।
अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनियाँ गाडीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढिरहेको छ ।
चिनियाँ विद्युतीय गाडीमा अमेरिकाले १०० प्रतिशत र युरोपेली सङ्घले ३५ दशमलव ३ प्रतिशतसम्मको कर लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाडीको सबैभन्दा ठूलो उत्पादक हो । सन् २०२५ मा उत्पादन भएका २ करोड २० लाख गाडीमध्ये झन्डै ७५ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
सन् २०२५ मा चिनियाँ विद्युतीय गाडीको निर्यात २५ लाखको कीर्तिमानी उच्चतम विन्दुमा पुगेको थियो, यो अघिल्लो वर्षको भन्दा दोब्बर हो ।
आईईएका अनुसार युरोप र अमेरिकाबाहिर गएको वर्ष विद्युतीय गाडी बिक्रीको ५५ प्रतिशत हिस्सा चिनियाँ मोडेलहरूको थियो ।


