
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रमअनुसार सरकारले पर्यटनलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्य लिएको छ । जसका लागि आर्थिक वर्ष २०८३ साल साउनदेखि २०८५ असारसम्मको दुई वर्षलाई कोशी प्रदेश भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्षलाई पनि प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो ।
तर कार्यान्वयन पक्ष कमजोर छ । प्रदेश सरकारले सुनसरीको बराह क्षेत्र, पिण्डेश्वर, दन्तकाली र विष्णुपादुकालाई जोडेर चारधाम सर्किट बनाउने घोषणा गरेको छ ।
पूर्वाधार विकासमा कोशी प्रदेशले रेल र सुरुङमार्गको सम्भाव्यताको विषयलाई समेटेको छ । सुनसरीको चतरादेखि चौरीखर्कसम्म रेलमार्ग, बहुउद्देश्यीय तमोर–लेउती सुरुङमार्ग र केचनकवल–सगरमाथा द्रुतमार्गको सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।
कचनकवल नेपालको होचो स्थान हो । नेपालको होचो स्थानबाट संसारकै अग्लो स्थानसम्म सडक पूर्वाधार, रेल र सुरुङ मार्ग निर्माणको अध्ययन संघीय सरकारको समन्वयमा हुनेछ ।
प्रदेश सरकारले निर्माण गरेको पूर्वाधार संरचनाको पहिचान खुल्ने गरी सौन्दर्यकरण गर्ने योजना बनाएको सरकारले छुट्टै मानक रङ्ग, सङ्केत चिन्ह राख्ने भएको छ ।
सरकारले साक्षरता कम भएका समुदायका बालिकाहरूका लागि ‘सक्षम छोरी’ कार्यक्रम अघि बढाउने भएको छ । किशोरीका लागि ‘किशोरी सशक्तीकरण तथा आत्मरक्षा’ अभियानलाई स्थानीय तहमा विस्तार गर्ने नीति लिएको सरकारले साक्षरता दर न्यून भएका सीमान्तकृत समुदायका छोरीको शिक्षामा पहुँच बढाउँन ‘सक्षम छोरी’ कार्यक्रम अघि सारेको हो ।
प्राविधिक शिक्षामा विद्यार्थीलाई आकर्षण गर्न प्रयोगात्मक अभ्यासमा आधारित ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि बढाउने भएको छ ।
उज्यालो सहर कार्यक्रमअन्तर्गत स्थानीय तहको सहलगानीमा प्रमुख राजमार्गका सहरहरूमा सोलार सडक बत्ती जडान गर्ने कार्यक्रम तय गरेको सरकारले भदौ २३ र २४ गतेको तोडफोड र आगजनीबाट क्षति भएका प्रदेश सभा र मन्त्रालयका भवनहरूको पुनर्निर्माणलाई प्राथमिकता दिएको छ ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न संघीय सरकारसँग समन्वय गर्ने नीति लिएको सरकारले कोशी प्रदेशबाट गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको भैरहवाबीच अन्तरप्रदेश हवाई उडान सुरु गर्ने लक्ष्य राखेको छ । कोशी प्रदेशभित्रको आन्तरिक उडान तथा पर्वतीय उडान सञ्चालनका लागि प्रोत्साहन गर्ने सरकारको योजना छ ।
प्रदेश मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने नीति लिएको सरकारले धनकुटामा चिकित्साशास्त्र तर्फको शैक्षिक कार्यक्रम सुरु गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।
कोशी प्रदेशको पहिचान रहेको चिया र अलैँचीको निर्यात प्रवर्धनका लागि प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको चिया सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।
युवालाई कृषिमा आकर्षित गर्ने नीति लिएको सरकारले प्याज, लसुन, आलु र टमाटरजस्ता आयात गरिने तरकारीमा आत्मनिर्भर हुन स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई मजबुत बनाउन प्रदेश समन्वय परिषद् तथा प्रशासनिक समन्वय परिषद्लाई क्रियाशील बनाइने नीति लिएको सरकारले योजना र आयोजना कार्यान्वयनलाई नतिजामुखी बनाउने उल्लेख छ ।


