
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएपनि बाढीको जोखिम कायमै रहेको जनाएको छ ।
मनसुन अवधिमा कम बर्षा भइ लामो समयसम्म खडेरी लाग्दा एक्कासी बर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै रहेको बिभागले जनाएको हो ।
बिभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले यस बर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । प्रवक्ता पोखरेलले मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुदै गएको बताउनु भयो ।
यस बर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको बिभागले जनाएको छ ।
त्यस्तैगरि सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत बिभागले उल्लेख गरेको छ ।


