
काठमाडौं । पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गए पनि उत्पादन तथा उर्बर जमिन भने घट्दै गएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्न बालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटाेन्मुख देखिएका छन् । नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर हो ।
सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा १० दशमलव ७ प्रतिशतले बजेट बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७०/७१ मा २१ अर्ब ४० करोड र २०८१/८२ मा ५९ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो ।
साविक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको कृषिसम्बन्धी तथ्याङ्क जानकारी’ पुस्तकमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७०/७१ मा धान ५० लाख ४७ हजार ४७, मकै २२ लाख ८३ हजार २२२, गहुँ १८ लाख ८३ हजार १४७, कोदो ३ लाख ४ हजार १०५ र फापर १ लाख ३३५ मेट्रिकटन उत्पादन भएको थियो ।
पछिल्ला वर्षमा गहुँबाहेक धान र चामल भारतबाट, कोदो र फापर चीन, अर्जेन्टिना, मलेशियालगायत देशबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ मा धान र चामल गरी ७ लाख ५३ हजार ३०५ मेट्रिकटन, मकै २ लाख ९९ हजार ९८९ मेट्रिकटन, कोदो ८ हजार ४४३ मेट्रिकटन र फापर ६९८ मेट्रिकटन आयात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा धान चामल खरिदमा ४० अर्ब १८ करोड, मकै खरिदमा १९ अर्ब २७ करोड, कोदो खरिदमा ४२ करोड ३० लाख र फापर खरिदमा ५ करोड ३० लाख गरी ५९ अर्ब ९२ करोड ६० लाख रुपैयाँ बाहिरिएको छ ।
त्यही आर्थिक वर्षमा सरकाले कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । याे बजेट कृषि विकासका लागि आयातमा ४ दशमलव ०६ प्रतिशत अर्थात् २ अर्ब ६३ करोड ६० लाख रुपैयाँले धेरै हो ।
तथ्याङ्कअनुसार धानको उत्पादन प्रतिवर्ष १ दशमलव ०३४ प्रतिशतले र जनसङ्ख्या वृद्धिदर भने प्रतिवर्ष ० दशमलव ९२ प्रतिशतले वृद्धि भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । २०७८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईं ३ करोड जनसङ्ख्यालाई धान्न झन्डै ७० लाख मेट्रिकटन धानको आवश्यकता रहेको बताउनुहुन्छ । याे जनसङ्ख्यालाई धान्न १३ लाख मेट्रिकटन धानको उत्पादन वृद्धि गर्नुपर्नेछ ।
आर्थिक वर्ष २०८१/८२ मा ३१ लाख ९३ हजार ८६९ मेट्रिकटन मकै उत्पादन भएको छ । १० वर्षमा ९ लाख १० हजार ६४७ मेट्रिकटन उत्पादन बढेको छ जुन प्रतिवर्ष ३ दशमलव ९८ प्रतिशतले वृद्धि हो । गहुँको उत्पादन ८ प्रतिशतले वृद्धि भई २० लाख ३५ हजार ५५९ मेट्रिकटन पुगेको छ जुन प्रतिवर्ष ०८ प्रतिशतले वृद्धि हो ।
कोदो र फापरको उत्पादन १० वर्षमा निकै खस्किएको छ । आर्थिक वर्ष २०७०/७१ मा कोदो ३ लाख ४ हजार १०५ मेट्रिकटन थियो भने २०८०/८१ मा २४ हजार ९३१ मेट्रिकटन छ । प्रतिवर्ष कोदोको उत्पादन २२ दशमलव १ प्रतिशतले घटेको छ ।
त्यसैगरी फापर २०७०/७१ मा १ लाख ३३५ मेट्रिकटन थियो भने २०८०/८१ मा १४ हजार ५१६ मेट्रिकटन मात्र भयो । फापरको उत्पादन प्रतिवर्ष १७ दशमलव ६ प्रतिशतले घटेको छ ।
१० वर्षमा सरकारले कृषि क्षेत्रको बजेट १० दशमलव ७ प्रतिशतले बढाउँदै लगेको छ भने धानको उत्पादन प्रतिवर्ष १ दशमलव ०३४, मकैको ३ दशमलव ९८, गहुँको ०८ प्रतिशतले वृद्धि भएको छ भने कोदोको प्रतिवर्ष २२ दशमलव १ र फापरको १७ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।
अर्काेतर्फ खेतीयोग्य जमिन पनि घट्दै गएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार २०६८ सालको कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात् २०७८ सालको कृषि गणनामा आइपुग्दा झन्डै ३ लाख हेक्टर जमिन घट्न गई २२ लाख १८ हजार ४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ ।
नेपालमा प्रत्येक १०/१० वर्षमा कृषि गणना हुँदै आएको छ । कृषि गणनाको शुरुआत विसं २०१८ देखि प्रारम्भ भएको हो ।


