२०८३ जेठ ६ बुधवार , ०४:१८:०६ बजे

Sajhamanch
'

पाकिस्तानमाथि बङ्गलादेशको ऐतिहासिक ‘क्लिन स्वीप’

बुधवार, जेठ ६, २०८३

काठमाडौं । पाकिस्तानसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला घरेलु टोली बङ्गलादेशले ‘क्लिन स्वीप’ गरेको छ ।

दोस्रो टेस्टमा पाकिस्तानलाई ७८ रनले हराउँदै बङ्गलादेशले इतिहास रचेको हो । बङ्गलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट शृङ्खलामा पाकिस्तानलाई ‘क्लिन स्वीप’ गरेको हो ।

बङ्गलादेशले दिएको ४३७ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौँ दिनको पहिलो सत्रमा ३५८ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका मोहम्मद रिजवानले ९४, तथा कप्तान शन मसूद र सलमान अघाले समान ७१ रन बनाए । बङ्गलादेशका तैजुल इस्लामले ६ विकेट लिए ।

दोस्रो पारीमा बङ्गलादेशले ३९० रन बनाएको थियो । बङ्गलादेशका मुश्फिकर रहिमले १३७, लिटन दासले ६९, महमुदुल हसन जोयले ५२ रन बनाए । पाकिस्तानका खुर्रम शहजादले ४ विकेट लिए ।

यसअघि सिल्हटमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले पहिलो पारीमा २७८ रन बनाएको थियो । बङ्गलादेशका लिटन दासले १२६ रन बनाए । पाकिस्तानका खुर्रम शहजादले ४ विकेट लिए ।

पाकिस्तानले पहिलो पारीमा २३२ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले ६८ रन बनाए । बङ्गलादेशका नहिद राना र तैजुल इस्लामले समान ३ विकेट लिए । पहिलो टेस्टमा बङ्गलादेशले पाकिस्तानलाई १०४ रनले हराएको थियो ।

यो जीतसँगै बङ्गलादेश विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । पाकिस्तान आठौँ स्थानमा यथावत् छ । बङ्गलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैटौँ स्थानमा झरेको छ । तालिका अस्ट्रेलिया शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर