२०८३ जेठ ६ बुधवार , १२:२१:४५ बजे

Sajhamanch
'

भोजपुरको खोक्सिकवासीलाई निःशुल्क विद्युत

बुधवार, जेठ ६, २०८३

भोजपुर । जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ ।

वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उहाँको भनाइ छ ।

‘वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ’, वडाध्यक्ष राईले भन्नुभयो, ‘आर्थिक अभावकै कारण अँध्यारोमा बस्नुपरेका परिवारलाई उज्यालो दिने हाम्रो सानो प्रयास हो ।’

विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । वडाले दुई लाख बजेट विनियोजन गरेर आवश्यक सहयोग गरेको वडाध्यक्ष राईले बताउनु भयो । वडाले आगामी दिनमासमेत विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीयवासीले पनि वडाको यो पहलप्रति खुसी व्यक्त गरेका छन् । विद्युत सेवा उपलब्ध भएसँगै साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासी सुदर्शन गहतराजले बताउनु भयो । वडाको सहयोगमा घरमा विद्युत जडान भएपछि दैनिक कामकाजमा सहयोग पुगेको उहाँको भनाइ छ ।

‘आर्थिक अभावमा घरमा विद्युत् जडान गर्न सकेको थिइन’, उहाँले भन्नुभयो, ‘जसका कारण अँध्यारोमा रात कटाउनुपर्ने अवस्था थियो । वडाको सहयोग विद्युत बाल्न पाउँदा खुसी लागेको छ ।’

घरमा विद्युत जडान भएपछि बालबालिकाको पठनपाठनसँगै उज्यालोमा बस्न पाएको अर्का स्थानीय मानबहादुर विश्वकर्माले बताउनु भयो । वडाले गरेको यस कामले विपन्न परिवारको बस्तीमा विद्युत बलेको उहाँको भनाइ छ ।

वडामा विद्युत विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । बाँकी रहेका नागरिकको घरमा पनि जडान गरेर उज्यालो वडा घोषणा गर्ने तयारी रहेको वडाको भनाइ छ ।

सम्बन्धित खबर