२०८३ जेठ ४ सोमवार , ०२:०७:२६ बजे

Sajhamanch
'

सहकारी लेखा ब्यवस्थापन सम्बन्धी १५ दिने तालिम बिर्तामोडमा सुरु

सोमवार, जेठ ४, २०८३

झापा । बिर्तामोडमा आजदेखि कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी १५ दिवसीय तालिम सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा यहाँका सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुका लागि उक्त ६० घण्टाको तालिम सुरु गरिएको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा तालिम प्रदायक संस्था प्रथम आइटी सिस्टम प्रालिले आज बिहान तालिम उद्घाटन गरेको हो ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख प्रसाईंले भदौ २३–२४ को विध्वंशात्मक घटनाबाट नगरमा ठूलो आर्थिक तथा भौतिक क्षति भएकाले धेरै काम गर्न नसकेता पनि सहकारीमा काम गर्ने जनशक्तिलाई क्षमतावान बनाउन प्राप्त प्रस्ताव स्वीकार गरी आजबाट तालिम सुरु गरिएको स्पष्ट पार्नुभयो ।

“सहकारीको लेखा व्यवस्थापन चुस्त भयो भने संस्थाको आर्थिक अवस्था थाहा पाउन र सदस्यहरुलाई लाभान्वित बनाउन सकिन्छ” नगरप्रमुख प्रसाईंले भन्नुभयो, “यही सन्दर्भमा तालिमका लागि नगरपालिकाले बजेट प्रदान गरेको छ, सबैले तालिमको भरपुर उपभोग गरी आफ्नो सहकारी संस्थाको प्रवद्र्धन गर्न सक्नुहोस् ।”

तालिमको अनुगमनकारी संस्था क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकले सहकारी संस्थाहरु लगभग सबैजसो सफ्टवेयर प्रणालीमा गइसकेकाले यो तालिम लाभप्रद हुने अपेक्षा राख्नुभयो । उहाँले नगरपालिकाले उपलब्ध गराएको बजेटले सुरु भएको यस तालिमले सहभागीहरुको सीप अभिवृद्धिमा यथेष्ट मद्धत पुग्नेछ भन्नेमा विश्वस्त रहेको पनि बताउनु भयो ।

तालिम उद्घाटन समारोहमा बिर्तामोड वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवाले आफूले पढेको धुलेयूग र आजको डिजिटल यूगको तुलना गर्नुभयो । यस्तै अर्का वक्ता सामाजिक व्यक्तित्व चैतन्यप्रकाश मैनालीले १४ वर्षअघि प्रथम आईटी सुरु गर्दाको अवस्था र आजको दिनमा भइरहेको प्रगतिका विषयमा चर्चा गर्नुभयो ।

प्रथम आईटी सिस्टम प्रालिका अध्यक्ष लोकप्रिय खनालको अध्यक्षतामा आयोजित तालिम उद्घाटन समारोह क्यान झापाका सदस्य गोपाल काफ्लेले सञ्चालन गर्नुभएको थियो भने प्रथम आईटी सिस्टम प्रालिका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले शाब्दिक स्वागत गर्दै तालिमको औचित्य प्रष्ट्याउनु भएको थियो ।

सम्बन्धित खबर