२०८३ जेठ ३ आइतवार , ०१:२५:३९ बजे

Sajhamanch
'

यात्रा संस्मरण : मुक्तिनाथ धाममा दोस्रो पटक

आइतवार, जेठ ३, २०८३
  • नरेन्द्रप्रकाश सिटौला

यसपालि बैशाख महिनामा सधैंभन्दा अलि बढी वर्षा भएको थियो । टाढाको यात्रा अलि लामो भएकाले कतै पहिरो गएर बाटो बन्द हुने र यात्रा असहज बन्ने त होइन भन्ने सन्त्रास सबै तीर्थयात्रीहरुको मनमा थियो । तर धन्य प्रकृति– उसले साथ दियो । पहिरो वा अन्य कुनै कारणले यात्रा बीचमै रोक्नुपर्ने अवस्था आएन । लामो यात्राका कारण शरीर थाकेको भएपनि मनमा उत्साह र श्रद्धा भरिएकाले कठिनाइभन्दा पनि सहजताको अनुभूति धेरै भयो । एकैपटक यति लामो यात्रामा ठूलो संख्यामा तीर्थयात्रीहरुलाई समेटेर व्यवस्थापन गर्नु आफैंमा कम चुनौतीपूर्ण कार्य होइन । तर, व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएका व्यक्तिहरुले अत्यन्त कुशलतापूर्वक आफ्नो दायित्व निर्वाह गर्नु भयो । व्यवस्थापनमा कुनै कमी आउन नदिन विशेष ध्यान दिनुभयो । उहाँहरुको दक्षता, समर्पण र कुशल नेतृत्वप्रति हामी सम्पूर्ण तीर्थयात्रीहरुले हृदयदेखि नै मुरीमुरी धन्यवाद व्यक्त गर्नुपर्दछ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय झापाको बिर्तामोड– ४ मा छ । यस संस्थाले कोशी प्रदेशका झापा, इलाम, मोरङ र पाँचथर जिल्लामा आफ्ना सेवा केन्द्रहरु विस्तार गरेको रहेछ । झापामा २४ वटा, इलाममा १० वटा, मोरङ्गमा ९ वटा तथा पाँचथरको फिदिममा एउटा गरी हालसम्म जम्मा ४४ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् । यस सहकारी संस्थाका शेयर सदस्यहरुको संख्या करिब ७२ हजार पुगको छ ।

यस संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न सामाजिक तथा सहयोगात्मक कार्यक्रम मार्फत निरन्तर सहयोग गर्दै आएको पाइएको छ । जाडोको मौसममा बालबालिका, बृद्ध एवम् विपन्न समुदायलाई न्यानो कपडा वितरण, सुत्केरी महिलालाई राहत सुविधा, बाढीपीडितहरुलाई राहत प्रदान, महिला शेयर सदस्यहरुलाई सीपमूलक तालिम, बिरामी उपचार खर्चमा सहयोग, आँखा शिविर सञ्चालन लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।

साथै आफ्ना सदस्यहरुलाई क्रमिकरुपले पालो मिलाएर एकपटक तीर्थयात्रा गराउने कार्य पनि यस संस्थाको उल्लेखनीय एवम् सकारात्मक पक्ष रहेछ । संस्थाको नाम नै ‘बचत तथा ऋण सहकारी’ भएकाले सदस्यहरुबाट बचत संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर ऋण उपलब्ध गराउनु यसको स्वभाविक कार्यक्षेत्र हो । यसै संस्थाबाट पंङ्तिकार र जीवनसाथीलाई गतवर्ष पनि तीर्थयात्राका लागि निमन्त्रणा नआएको होइन । तर त्यतिबेला भर्खरै विभिन्न स्थानहरुको यात्रा गरेर फर्किएको हुँदा नजाने निर्णय गरिएको थियो ।

पुनः यस वर्षको तीर्थयात्राका लागि निमन्त्रणा आएपछि सहर्ष सहभागी हुने वचन दिइयो । चारै जिल्लाबाट गरी जम्मा १७५ जना तीर्थयात्रीहरु ६ वटा बस मार्फत यात्रामा सहभागी हुने व्यवस्था मिलाइएको थियो । अध्ययन अवलोकन भ्रमण तोकिएको मिति २०८३ बैशाख २० गते बिहान ११ बजे झापाको बिर्तामोडस्थित आदर्श बैंक्वेट पार्टी प्यालेसमा सबै यात्रुहरु भेला भइयो । त्यहाँ नास्ताको व्यवस्था समेत गरिएको थियो ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट कार्यकारी प्रमुख कमल बस्नेतले दिनुभएको यात्रा सफलताको शुभकामना ग्रहण गर्दै पंङ्तिकार, निजको जीवनसाथी लक्षिमा र ज्वाईं गोपाल काफ्लेसहित सबै १७५ यात्रुहरु दिउँसो १ बजेदेखि यात्रा प्रारम्भ गरियो ।

यात्राको पहिलो स्थल जनकपुरधाम रहेछ । गंगा आरती हेर्ने कार्यतालिका बनाएर सुरु भएको यात्रा बेलुका करिब सवा ९ बजेपछि पुगे पछि खल्लो रह्यो । जानकी मन्दिर क्षेत्रमा मानिसहरूको चहलपहल कम भइसकेकोले शान्त वातावरणमा केही तस्बिरहरु खिचेर जनकपुरधामको अवलोकन गरेको भन्न पाइयो । त्यसपछि राति ११ बजे लालगढस्थित ‘न्यू बौवा होटल’मा पुगेर स्वादिष्ट, मिठो तथा परिकारयुक्त भोजन गरियो । हाम्रो भ्रमण “अध्ययन तथा अवलोकन भ्रमण”का रूपमा आयोजना गरिएको थियो । भोजनपछि पुनः राति नै यात्रा अघि बढाइयो ।

बैशाख २१ गते बिहान करिब सवा ५ बजे चितवनको देवघाट पुगियो । त्यहाँ टुर गाइड सन्तोष बाँस्तोलाले केही निर्देशनहरु दिनुभयो । त्यस पछि हामी तनहुँस्थित कालीगण्डकी र त्रिशुली नदीको पवित्र संगमस्थलमा स्नानका लागि झोलुङ्गे पूल हुँदै यात्रा तय गर्यौं । बिहानको पहिलो प्रहर रहेकाले भिडभाड बिना नै इच्छुहरुले त्रिवेणीमा स्थान गर्यौं । र, सिद्धेश्वर महादेवको दर्शन गरी पुनः देवघाट प्रवेशस्थल आएर बिहानको खाजा नास्ता गरी अर्को गन्तब्यका लागि यात्रा प्रारम्भ गरियो ।

अबको गन्तब्य पोखरा थियो । मुग्लिन कटेर चार लेनको नयाँ सडकमार्ग पार गर्दै दुलेगौँडा, घाँसीकुवा, तनहुँ हुँदै दिउँसो १२ बजेतिर पोखरा महानगरपालिका प्रवेश गरियो । जनकपुरधाम आसपासका स्थानहरूमा देखिने फोहोरमैलाको तुलनामा पोखरा अत्यन्त सफा, सुन्दर र रमणीय लागेको अनुभव भयो । हाम्रो बासको ब्यवस्था रहेको होटल ‘क्रस बोडर’ मा पुगेर भोजन गरियो । दिउँसो १२ बजे नै पोखरा पुगे तापनि मौसम खराब भई हावाहुरी र वर्षा भएका कारण सो दिन पोखरा घुम्न पाइएन । केही क्षण लेकसाइड पुगे पनि वर्षातका कारण घुमफिर गर्न पाइएन ।

भोलिपल्ट बैशाख २२ गते पोखराबाट बिहानै जोमसोमका लागि यात्रा सुरु गरियो । बाग्लुङ, पर्वत, कुस्मा हुँदै यात्रा अघि बढ्यो । कुस्मा बजारको दृश्य अवलोकन गर्दै बाग्लुङमा रहेको कालिका मन्दिर पुगियो । उक्त मन्दिर दर्शन गर्ने मेरो पहिलो अवसर थियो । अत्यन्त सफासुग्घर, मनमोहक र हेर्नलायक रहेछ मन्दिर क्षेत्र । त्यहाँ दर्शन गरेपछि गण्डकी स्वर्णिम झुला (झोलुङ्गे पुल) अवलोकन गर्न पाइयो, जुन निकै रमाइलो अनुभव भयो । बाग्लुङ र पर्वत जिल्ला जोड्ने यो ५६७ मिटर लामो झोलुङ्गे पूल एशिया महादेशको उचाईमा रहेको दोस्रो ठूलो पूलका रुपमा चिनिँदो रहेछ । अघिल्लो यात्रामा रातको समय परेकाले उक्त पुल हेर्न नपाएको धोको यसपटक पूरा भयो ।

त्यसपछि बसमार्फत पर्वत, बेनीबजार हुँदै म्याग्दी पुगियो । म्याग्दीमा ढुङ्गैढुङ्गाले बनेको गलेश्वर महादेव मन्दिर हेरियो । विशाल ढुङ्गामाथि अवस्थित आकर्षक र मन लोभ्याउने धार्मिक स्थल रहेछ यो पनि । त्यहाँ दर्शन गरी मिठो खाना खाएर तातोपानी कुण्डतर्फ प्रस्थान गरियो ।

तातोपानीमा नुहाउन वा भित्र प्रवेश गर्न ५० रुपैयाँ शुल्क लिइँदो रहेछ । भित्र प्रवेश गरेर त्यहाँ रहेका छुट्टाछुट्टै दुईवटा तातोपानी पोखरीमा २०/२० मिनेट शान्त भएर बसियो । हलचल गरियो भने पोखरीको पानी अझ बढी तातो हुने र त्यसमा डुब्न नसकिने भनिँदो रहेछ । पोखरीमा आउने तातोपानी पोखरी नजिकै भित्ताबाट अढाइ फिट तलबाट निस्कँदो रहेछ । त्यो तातोपानी पिउनका लागि त्यहाँ गिलास राखिएको हुँदोरहेछ । आफैंले गिलासमा पानी निकालेर पिउँदा भर्खर उमालेर ल्याएको जस्तै तातो पानी पिइयो ।

उक्त प्राकृतिक तातोपानीमा केही समय डुब्दा शरीरका चर्म रोगहरु निको हुने तथा कम्मर दुख्ने, नशा दुख्ने आदि समस्याबाट छुट्कारा पाइन्छ भन्ने गरिएको छ । यही विश्वासले हामीले पनि यसै गर्यौं । तर उक्त कुण्डमा आउने तातोपानी पूर्ण प्राकृतिक नै हो त ! किन नजिकै माथि सोलार प्यानल राखिएको ? नजिकै अर्कोतिर सेतो स्टिलको ठूलो पानी ट्याङ्की किन जोडिएको रहेछ ? भन्नेजस्ता कौतुहलता चाहिँ मेटिएन ।

त्यसपछिको यात्रामा मुस्ताङ जिल्ला प्रवेश गरी रुप्से झरनाको रमाइलो दृश्य अवलोकन गरियो । त्यसपछि पर्यटकीय क्षेत्रको रुपमा परिचित मार्फा भिलेजको जेरी गल्लीमा करिब एक घण्टा विचरण गरियो । त्यहाँ गाडीबाट ओर्लिएपछि करिब एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने रहेछ । बाटाको दुवैतर्फ पर्यटकलाई आकर्षित गर्ने लुगाफाटा तथा विभिन्न खाद्य पदार्थहरू सजाएर राखिएका रहेछन् । उक्त गल्लीलाई “जेरी गल्ली” भनिँदोरहेछ । त्यो स्थानभन्दा माथि भिरमा पौराणिक बुद्ध मन्दिर रहेको छ । मन्दिर आसपास अहिले नै खस्लान्जस्ता देखिने चेप्टा ढुङ्गाहरू बग्रेल्ती थिए । तर त्यहाँबाट ती ढुङ्गाहरू आजसम्म नखसेको कुरा स्थानीय बुढापाकाहरू बताउँछन् । त्यस क्षेत्रमा स्याउका बोटहरू पनि प्रशस्त देख्न पाइयो । मुस्ताङको मार्फा स्याउका लागि प्रख्यात स्थान रहेछ । सो पछि हामी जोमसोम पुग्यौं । बेलुकाको ५ः३० बजेतिर होटल प्रवेश गरेर उक्त रात त्यहाँ कटाइयो ।

बैशाख २३ गते हाम्रो यात्राको चौथो दिन । बिहान सबेरै कागबेनी श्राद्धस्थल पुगियो । त्यहाँ नुहाइधुवाइ गरेर पितृहरूको नाममा श्राद्ध गरियो । मुक्तिनाथ जाँदा आफ्ना बुवाआमा नहुने सबै भक्तजनले कागबेनीमा तीर्थश्राद्ध गर्ने प्रचलन रहेछ । काँचो जौको पिठोबाट २१ वटा पिण्ड बनाएर तर्पण गरी कागबेनीमा बिसर्जन गरेर आत्म सन्तुष्टि ग्रहण गर्दै मुक्तिनाथ धामतर्फ अघि बढियो ।

करिब ४० मिनेटको बसयात्रा गरेर मुक्तिनाथ मन्दिर क्षेत्र पुगियो । करिब एक किलोमिटर तल गाडी पार्किङस्थल रहेछ । त्यहाँबाट जान सक्नेहरू हिँडेर जाने र नसक्नेहरूका लागि घोडाको व्यवस्था गरिएको रहेछ । घोडामा चढ्न नसक्नेहरूलाई डोलीमा राखेर चारैतिरबाट एक/एक जनाले बोकेर लैजाने चलन पनि रहेछ । पहिलोपटक २०७८ सालमा पंङ्तिकार त्यहाँ पुग्दा उक्त बाटोमा खुड्किला मात्र थिए तर अहिले भने पाथीभरा मन्दिर क्षेत्रमा जस्तै सिँढी बनाइएको रहेछ । तर सिँढी चढेको भान नै नहुने गरी अत्यन्त फराकिलो, चौडा एवम् सहज रूपमा निर्माण गरिएको रहेछ ।

मन्दिरमा पुग्दा बिहानको समय भएकाले हजारौं दर्शनार्थीको भिड भइसकेको थियो । मानिसहरू बस्नका लागि बेञ्चहरूको व्यवस्था गरिएको रहेछ । लुगा फेर्न पुरुष र महिलाका लागि छुट्टाछुट्टै कोठा रहेछन् । अकस्मात् कसैलाई लेक लागेमा वा अन्य बिरामी परेमा उपचारका लागि स्वास्थ्य कक्षको व्यवस्था पनि गरिएको रहेछ । टण्टलापुर घाम लागेको थियो । एक सय आठ धारामा स्नान गरी त्यसपछि पापकुण्डमा तीन पटक र धर्मकुण्डमा तीन पटक डुबुल्की खेलेर निस्कँदा केही चिसो महसुस भए पनि शरीर पुछेर कपडा लगाएपछि जाडोको अनुभव भएन । बरु शरीरमा एक प्रकारको आनन्दको अनुभूति भयो ।

मुक्तिनाथ मन्दिर दर्शन गर्न लामो लाइन देखिए पनि ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्तहरूलाई लाइन बस्न नपर्ने व्यवस्था रहेछ । उनीहरूले सिधै मन्दिर प्रवेश गरी पूजापाठ गर्न पाउने रहेछन् । हामीले ज्येष्ठ नागरिकहरुले यस्तो सुविधा लिन पायौं र सहजै मन्दिर प्रवेश गरेर दर्शन गरियो । मन्दिर क्षेत्रमा नेपालीभन्दा भारतीय नागरिकहरुको उपस्थिति बाक्लो देखिन्थ्यो । यो पर्यटकीय सिजनमा भारतीय नागरिकहरु बाक्लै नेपाल घुम्न आउँदा रहेछन् भन्ने लाग्यो । करिब एक घण्टा मन्दिर क्षेत्रमा बसियो । तस्वीर खिचियो । हाम्रै समूहका एकजना नानीलाई मन्दिर दर्शन गर्न लाइनमा बसेको समयमा लेक लागेछ । उपचार पछि उहाँ पनि आउनु भयो अनि हामी क्रमशः फर्किन थाल्यौं ।

बिहान मुक्तिनाथ क्षेत्रभित्रै रहेको ‘गोल्डेन लाइफ होटल’मा निकै स्वादिलो भोजन गरियो । त्यसपछि गाडी पार्किङस्थलबाट बसमा फर्किने यात्रा सुरु भयो । केही तल झरेपछि ‘सुटिङ स्पट’को नाममा चिनिने स्थानमा केहीबेर विश्राम गरियो । त्यहाँ यति तीव्र गतिमा हावा चल्दो रहेछ कि मानिसलाई नै उडाउला जस्तो अनुभूति हुन्थ्यो । हावाको बेग सहेर धेरै बेर बस्न पनि गाह्रो थियो । हामीले एक दुई पोज तस्वीर खिच्यौं तर युवावयका नानी बाबुहरुलाई टिकटकमा रमाउन कसले रोक्ने ! उहाँहरुले भिडियो खिच्नु भयो । टिकटक बनाउनु भयो । रमाइलो गर्दै हामी फर्किन थाल्यौं ।

फर्कने क्रममा फेरि एकपटक मुस्ताङको मार्फा भिलेजमा गाडी रोकियो । त्यहाँ स्याउबाट बनेका सुकुटी, पेय पदार्थहरुको खुब बिक्री हुँदो रहेछ । सबैजसो यात्रुले केही न केही किनेर पोखरातर्फको यात्रा सुरु गरियो । बाटोमा पानी परिरहेकोले साँझतिरमात्र पोखरा आएर फेरि उही टुंगो होटल क्रस बोर्डरको कोठा नं. १०२ मा बसियो ।

भोलिपल्ट अर्थात् बैशाख २५ गते बिहान फेवातालमा डुङ्गा सयर गर्दै तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गरियो । त्यसपछि पुम्दीकोट शिव मन्दिर पुगियो । यो ठाउँ रमणीय रहेछ र उँच्चो ठाउँमा भएकाले पोखरा भ्याली अवलोकन गर्न पुम्दिकोट जानुपर्ने रहेछ ।

त्यसपछि गुप्तेश्वर महादेव गुफा र नजिकै रहेको पाताले छाँगोको अवलोकन गर्दै विन्दवासिनी मन्दिरको समेत दर्शन गरियो । मन्दिर अत्यन्त सफा, स्वच्छ र मन आनन्दित बनाउने खालको रहेछ । त्यहाँ पुग्न थोरै उकालो भएपनि ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्तहरूलाई निःशुल्क लिफ्टको सुविधा दिइँदोरहेछ ।

त्यसपछि महेन्द्र गुफा तर्फ लागियो । त्यहाँ पार्क पनि बनाइएको रहेछ । गुफा निकै तलसम्म फैलिएको रहेछ । फर्कने क्रममा अर्को सानो प्वालबाट निस्कने बाटो पनि रहेछ । धार्मिक विश्वास अनुसार त्यस प्वालबाट धार्मिक आस्था भएका मानिस मात्र निस्कन सक्छन् भन्ने मान्यता रहेछ । यो क्षेत्र चारैतिर जंगलले घेरिएको रहेछ । मानिसहरूले जंगल फँडानी गर्ने क्रममा उक्त गुफा फेला पारेका रहेछन् । पछि वि.सं. २०१७ सालमा राजा महेन्द्र त्यहाँ पुगेर गुफाको उद्घाटन गरेपछि त्यसको नाम ‘महेन्द्र गुफा’ रहन गएको रहेछ । हाम्रो टोलीले ती सबै स्थानहरूको अवलोकन भ्रमण गरी फर्कने कार्य सम्पन्न ग¥यो । चमेरे गुफा पनि महेन्द्र गुफाकै नजिक रहेछ ।

सकारात्मक पक्ष :

सहकारी संस्थाहरू देशभरि, नगर तथा गाउँमा प्रशस्तै छन् । तर प्रायः सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई यसरी ६÷६ दिनको अध्ययन तथा अवलोकन भ्रमण गराउने कार्य कमै गर्छन् । विभिन्न मन्दिर तथा धार्मिकस्थलको भ्रमण गराई सदस्यहरूको मन मस्तिष्कलाई तनावमुक्त बनाउने, तीर्थयात्रा गर्न इच्छा हुँदाहुँदै आर्थिक अभावका कारण जान नसक्नेहरूलाई अवसर प्रदान गर्ने कार्य अत्यन्त प्रशंसनीय छ । यसका लागि सम्पूर्ण तीर्थयात्री तथा अवलोकन भ्रमण टोलीका तर्फबाट सिम्रिक सहकारी परिवारलाई धेरै धेरै धन्यवाद ।

अवलोकन भ्रमणका क्रममा ६ वटा बसमा एकैसाथ यात्रा गराइएको थियो । यस पंङ्तिकारसहित ३० जना यात्रु १०८५ नम्बरको गाडीमा परिएछ । उक्त गाडीका चालकले अत्यन्त होसियारीपूर्वक गाडी चलाउनु भयो । उहाँ झर्किने वा रिसाउने स्वभावका नभई इमान्दार चालकका रूपमा परिचित हुनुभयो । सह–चालक पनि हँसिलो, यात्रुको पीरमर्का बुझ्ने तथा सहयोगी स्वभावका रहनुभएको पाइयो ।

अरू पाँच वटा बसको अनुभव थाहा भएन, तर हामी चढेको बसका यात्रुहरू अत्यन्त रमाइला रहेछन् । गीत बजाउँदै यात्राभरि नाचगान गरी यात्रा रमाइलो बनाइयो । बाटो काटेको पत्तै भएन । उक्त बसमा रहेका सम्पूर्ण हास्यकलाकार, गीतकार तथा नृत्यकारहरूलाई धन्यवाद व्यक्त गर्दछु ।

नकारात्मक पक्ष :

साठी वर्ष नाघेका ज्येष्ठ नागरिकहरू प्रायः निरोगीभन्दा रोगी बढी हुन्छन् । यो उमेरमा दाँत दुख्ने, दाँत झर्ने, सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल, ग्यास्ट्रिकजस्ता समस्या देखिन थाल्छन् । आँखा कम देख्ने, शरीर थरथर काम्ने, मुटुसम्बन्धी समस्या हुने, खुट्टा पोल्ने तथा झमझमाउने समस्या पनि देखिन्छन् । अल्जाइमर्सका कारण तत्कालै कुरा बिर्सने समस्या पनि हुने गर्दछ । एउटा कामका लागि हिँडेको मान्छे अलि पर पुगेपछि “म कहाँ जाँदै थिएँ ?” भन्ने अवस्थासम्म पुग्न सक्छ । बुढेसकालमा आफ्नै शरीर आफैंलाई बोझ लाग्न थाल्छ । छोरा–बुहारी प्रायः विदेशमा हुन्छन्, घरमा बुढाबुढी मात्र बस्नुपर्ने अवस्था हुन्छ । कतिपय अवस्थामा यो सबैलाई लागू हुँदैन) बुहारीहरूले वृद्ध सासू ससुरालाई बोझ ठान्ने, झर्कने तथा समयमा खाना नदिने जस्ता घटनाहरू पनि देखिन्छन् । यस्ता अनगिन्ती उदाहरण समाजमा पाइन्छन् ।

यस उमेर समूहका मानिसलाई रातदिन बसमा यात्रा गराउनु निकै कष्टकर हुन्छ । दिनको यात्रा तुलनात्मक रूपमा सहज भए पनि रातको यात्रा ज्येष्ठ नागरिकका लागि अत्यन्त कठिन हुनजान्छ । यसकारण उमेरको वर्गीकरण गरेर भ्रमणको तालिका बनाउन उपयुक्त हुनेछ । युवालाई त्यति रातको यात्रा असहज नलागे पनि वृद्धवृद्धाका लागि भने यो चुनौतीपूर्ण हुन्छ । यात्राका क्रममा गंगा आरती हेर्ने भनी रातको नौ बजेपछि सुनसान अवस्थामा जनकपुरधाम लगेर घुमाइएको कर्म त्यति सकारात्मक लागेन । जस्तो देखियो र भोगियो, त्यही कुरा सेतो कापीमा कालो मसीले उतारिएको हो । संस्थाले यत्रो खर्च गरेर अवलोकन भ्रमण गरायो, त्यसैमा आलोचना गरियो भनेर नकारात्मक रूपमा नलिनुहोला । काम गर्दा केही न केही कमी–कमजोरी अवश्य हुन्छन् । जे होस्, यात्रा अत्यन्त सफल, रोचक र स्मरणीय रह्यो । भ्रमण आयोजक संस्था सिम्रक साकोसलाई हार्दिक धन्यवाद ।

सम्बन्धित खबर