२०८३ जेठ ३ आइतवार , १२:४३:२० बजे

Sajhamanch
'

मदनको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कार व्यवहारमा उतार्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

आइतवार, जेठ ३, २०८३

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भएको छ।

आइतबार नेकपा (एमाले)ले काठमाडौँको बल्खुमा गरेको मदन–आश्रितको ३३ औँ स्मृति सभालाई सम्बोधन गर्दै मदनपत्नी समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

‘जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक,समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पुरा गर्न बाँकी छ’, पूर्वराष्ट्रपति भण्डारीको भनाई छ । भण्डारीले नेताद्धय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताउनु भयो ।

जनताको विश्वास नै कुनैपनि राजनीतिक शक्तिको सबैभन्दा ठुलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनताबिच दुरी बढे राजनीतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताउनु भयो ।

‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनुपर्दछ’, पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

सम्बन्धित खबर