
झापा । झापा जिल्लाका आम उद्योगी–व्यवसायी एवम् जिल्लामा स्थापित उद्योग–वाणिज्य संघहरुको अभिभावक संस्था झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा आज बसेको पदाधिकारी–सदस्यहरुको बैठकले सो कोष स्थापना गरेको हो ।
संघमा आबद्ध उद्योगी–व्यवसायीहरुको क्षमता विकास एवम् विभिन्न सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए ।
आज बैठकमा सहभागी कार्यसमिति सदस्य अरुणकुमार मित्रुका (महाबीर)–ले आफ्नो जन्मदिनको अवसर पारेर कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको सुरुआत गरेका हुन् ।
उनले संघले अत्यन्त उपयोगी कार्यक्रम सुरु गरेको भन्दै आफूले कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उनलाई कार्यसमितिको तर्फबाट अध्यक्ष राजकुमार राईले जन्मदिनको शुभकामनासहित कोष बृद्धिमा सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गरे भने सहभागी सबैले मित्रुकालाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष राईले अब उपरान्त कार्यसमितिका पदाधिकारी–सदस्य मात्र नभई संघमा आबद्ध सदस्यहरुको पनि जन्मदिन संघमा उत्साहका साथ मनाइने बताउँदै जन्मदिन मनाउने सदस्यले कोषमा स्वेच्छिक रुपमा आर्थिक योगदान गर्नसक्ने जानकारी गराए । उनले कोष सञ्चालनका लागि चाँडै कार्यविधि निर्माण गर्ने पनि बताए ।
त्यसैबीच, झापाबाट नेपाल प्रहरीको २ नं गण काठमाडौँमा सरुवा भएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी खगेन्द्रबहादुर खड्कालाई संघले ‘फेरि भेटौँला’ कार्यक्रमसहित सम्मान गरेको छ ।
संघमा आयोजित कार्यक्रमका बीच प्रनाउ खड्कालाई कार्यवाहक अध्यक्ष राजकुमार राईले मायाको चिनोसहित सम्मानपत्र प्रदान गरेका थिए ।
महासचिव सुमन्त मैनालीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता ढकाल, कोषाध्यक्ष पवन श्रेष्ठलगायत सदस्यहरुले प्रनाउ खड्कालाई खादा पहिर्याएर विदाई गरेका थिए ।
झापा रहुञ्जेल प्रनाउ खड्काले जिल्लाको शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा विवादरहित ढंगबाट कार्यसम्पादन गरेकोमा उनलाई ‘फेरि भेटौँला’ कार्यक्रमसहित सम्मान गरिएको अध्यक्ष राईले बताए ।
सो अवसरमा प्रनाउ खड्काले संघले गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।


