
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने भएको छ ।
मंगलवार समितिको बैठकमा समिति सचिव एकराम गिरीले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दै बेरुजुबारे जानकारी दिनु भएको हो ।
उहाँका अनुसार हालसम्मको बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ छ । सो बेरुजु फर्स्योट लेखा समितिले गर्नुपर्ने उहाँले बताउनु भयो ।
राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए–नभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो ।
यस अन्तर्गत सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू भनेर तोकिएको छ ।
क्यालेन्डर बनाएर काम गर्न रास्वपाको प्रस्ताव
छलफलमा सांसदहरुले बेरुजु फर्स्योटको अङ्क ठुलो रहेको र नयाँ पनि हेर्नुपर्ने भएकाले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको पनि क्यालेन्डर बनाएर जाने प्रस्ताव राख्नुभयो । ‘हतारमा नभएर आवश्यक परे लामो छलफल गर्ने गरी जाऔं,’ उहाँले भन्नुभयो ।
कति महिनामा कति काम गरियो भनेर पनि अभिलेखीकरण गर्ने उनको अर्को प्रस्ताव छ । रास्वपाका अर्का सांसद गणेश पराजुलीले सबै बेरुजु भ्रष्टाचार नभएको बताउनु भयो ।
श्रम संस्कृति पार्टीका सांसद निश्कल राईले लेखा समिति गम्भीर हुनुपर्ने तथ्यांकले नै देखाएको बताउनु भयो । ‘७ खर्ब त पहिलेकै बेरुजु रहेछ । नयाँ पनि ख्याल गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र शाहीले ‘लेखा समिति अब ‘एक्सन ओरिन्टेड’ भएर जानुपर्ने बताउनु भयो । विगतमा जस्तो लेखा समिति प्रभावकारी भएन भनेर टिप्पणी नआउने गरी काम गर्नुपर्ने र यसअन्तर्गत बेरुजु फर्स्योट लगायतका काम गर्नुपर्ने उहाँको जोड छ ।


