२०८३ वैशाख २८ सोमवार , ०७:२६:५५ बजे

Sajhamanch
'

आरोही संख्या र रोयल्टी संकलन आधारमा बन्याे सगरमाथामा नयाँ कीर्तिमान

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । आरोही संख्या र रोयल्टी संकलनका आधारमा सर्वोच्च शिखर सगरमाथाले नयाँ कीर्तिमान बनाएको छ ।

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणमा मानव पाइला टेकेयता एक सिजनमा सर्वाधिक आरोहीले अनुमति लिएको वर्षका रूपमा यो सिजनले कीर्तिमान राखेको हो । यस वर्ष ५० समूहका ४९२ आरोहीले सगरमाथामा अनुमति लिइसकेका छन् ।

वसन्त ऋतु सगरमाथा आरोहणका लागि अनुकूल मानिन्छ । यसअघि सन् २०२३ मा सर्वाधिक ४७८ आरोहीले अनुमति लिएका थिए ।

अहिले विश्व पर्यटन बजारमा प्रतिकूल वातावरण छ । पश्चिम एसिया युद्धका कारण इन्धन मूल्य बढ्दा यात्रा महँगो बनेको छ । साथै, हवाई उडान अनिश्चित बनेको छ । यति हुँदाहुँदै आरोहणमा नयाँ कीर्तिमान बन्नुले सरोकारवाला उत्साहित छन् ।

सगरमाथाले यसपालि एकसाथ तीन कीर्तिमान बनाएको गौतमले जानकारी दिए । उनका अनुसार अनुमति लिने टोली, आरोही संख्या र रोयल्टी तीन वटै क्षेत्रमा सर्वाधिक अंक पुगेको छ ।

जारी सिजनमा सगरमाथाले मात्र १ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरिसकेको छ । सरकारले १६ भदौ २०८२ देखि हिमाल आरोहणमा बढेको दस्तुर लागु गरेको थियो । सोही अनुसार पहिलो पटक वसन्त ऋतुका लागि तोकिएको दर कार्यान्वयनमा आएको हो ।

पर्वतारोहण सम्बन्धी छैटौं संशोधन नियमावली २०८१ ले उक्त  व्यवस्था गरेको थियो । जस अनुसार साविकमा वसन्त ऋतुमा प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रहेको आरोहण शुल्क अहिले १५ हजार डलर पुगेको हो । शरद ऋतुमा भने सगरमाथा आरोहण रोयल्टी ७ हजार ५०० डलरमात्र तिरे पुग्छ ।

विगतका वर्षहरूमा सबै सिजनमा गरी सगरमाथाबाट ७८/७९ करोड हाराहारी मात्र रोयल्टी संकलन हुने गरेकोमा यस वर्ष एकै सिजनमा १ अर्बमाथि संकलन भई कीर्तिमान कायम भएको गौतमले बतादए ।

यस वर्ष सगरमाथा आरोहण गर्न ५५ देशका आरोहीले अनुमति लिएका छन् । जसमध्ये १०५ महिला छन् । सबैभन्दा धेरै चीन र अमेरिकाका नागरिकले सगरमाथा आरोहणे अनुमति लिएको तथ्यांक छ । चीनबाट २६ महिला सहित १०९ र अमेरिकाबाट ९ महिला सहित ७६ आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ ।

त्यस्तै भारतबाट २६ महिला सहित ६१ र बेलायतबाट १ महिला सहित ३२ आरोहीले अनुमति लिएका छन् । नेपालबाट १२ आरोहीले अनुमति लिएका छन् । रुसबाट १८, अस्ट्रेलिया १५, जापान १४, क्यानडा १२ र आयरल्यान्डबाट ११ आरोहीले अनुमति लिएको समेत विभागको तथ्यांक छ ।

३० हिमालमा ११३४ आरोहीले लिए अनुमति

यस वर्ष वसन्त ऋतुमा कुल ३० हिमाल आरोहण गर्न  १ हजार १३४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये २७४ महिला छन् ।

सगरमाथापछि ल्होत्सेमा १० समूहका १२० र अमादब्लम हिमालमा १० समूहका १११ आरोहीले अनुमति लिएका छन् । अहिले सबैजसो हिमालमा आरोहण गतिविधि जारी छ । कतिपय हिमालमा धमाधम आरोहण भइसकेको छ ।

ती हिमाल आरोहण गर्न ७९ देशका आरोहीले अनुमति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै चीनबाट १४९ र अमेरिकाबाट १४८ आरोही छन् । नेपाली आरोही १९ जनाले अनुमति लिएका छन् । भारतीयको संख्या ९५ र बेलायती ७४ जना छन् ।

सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम जारी

पर्यटन विभागले सगरमाथा आधार शिविरमा स्थापना गरेको फिल्ड कार्यालयमा खटिएका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार साउथकोलसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । मंगलबार वा बुधबारसम्म बाटो बनाउने आइसफल डाक्टरहरूको टोली चुचुरोसम्म पुग्ने अपेक्षा गरिएको छ ।

त्यसपछि सगरमाथा आरोहणका लागि खुला हुनेछ । अहिले आरोहीहरूले एक क्याम्पदेखि अर्को क्याम्पसम्म पुगी उचाइसँग अभ्यस्त हुने अभ्यास (एक्लिमटाइज) गरिरहेका छन् ।

पर्यटन विभागका निर्देशक गौतमका अनुसार यस वर्ष सबै सरोकारवाला निकायको चुस्त कार्य र उचित समन्वयका कारण आरोहण गतिविधि सुरक्षित र सफल तरिकाले अगाडि बढिरहेका छन् । मौसम अनुकूल रहे आगामी साता सयौँ आरोहीले सर्वोच्च शिखर सगरमाथालाई पुन: एक पटक चुम्नेछन् ।

सम्बन्धित खबर