
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष आफ्ना १६४ सेयर सदस्य र ११ जना कर्मचारीहरु गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको एकैसाथ अवलोकन भ्रमण गराएको छ ।
सदस्यहरु समेतको लागत सहभागितामा बैशाख २० गते सुरु भएको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण २५ गते शुक्रबार बिहान पूरा गरेको हो ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका पाँचथर, मोरङ र इलाम गरी चार जिल्लामा ४४ वटा सेवा केन्द्रहरु मार्फत सेवा प्रदान गरिरहेको संस्थाले आफ्ना उत्कृष्ट सदस्यहरुलाई वर्सेनी पालो मिलाएर धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनु भएको छ ।
भ्रमणमा जान लाग्नुभएका यात्रुहरुलाई सफल यात्राको कामना गर्दै विदाई सम्बोधन गर्नुभएका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले यो वर्ष दर्शन नेपाल ट्राभल्स एण्ड टुर्स उर्लाबारीले यातायात, खाना, बासको ब्यवस्थापन गर्ने गरी जिम्मेवारी दिइएको र संस्थाका तर्फबाट सबै १७५ जनाको यात्रु बीमा गरिएको जानकारी दिनुभएको थियो ।

दर्शन नेपालले आफ्ना २ वटा र अन्य ४ वटा यात्रुवाहक बसमार्फत् धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको हो । उक्त रुटमा जनकपुरधाम, देवघाट धाम र पोखराभित्र रहेका पुम्दिकोट, डेभिडफल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा, फेवाताल, तलबराही मन्दिर, बिन्दबासिनी मन्दिर आदि घुमाइएको सहभागी झलनाथ कडरिया (आदित्य)ले बताउनु भयो ।
यस्तै मुक्तिनाथ धामको दर्शन गर्न जानेक्रममा बाग्लुङकालिका मन्दिर, एशियाको अग्लो ठाउँमा रहेको बाग्लुङ र पर्वत जिल्ला जोड्ने ५६७ मिटर लम्बाईको झोलुङ्गे पूल, म्याग्दीको गलेश्वर महादेव, तातोपानी, मुस्ताङको मार्फागाउँ र जेरीगल्लीसहित अवलोकन गराइएको सहभागी नरेन्द्रप्रकाश सिटौलाले बताउनु भयो ।

मुक्तिनाथ धामको दर्शन गरी सबै तीर्थालुहरु शुक्रबार सकुशल आ–आफ्ना घर पुग्नुभएको दमक सेवा केन्द्र प्रमुख विजय कार्कीले जानकारी दिनुभएको छ ।

(संलग्न तस्वीर एउटा र कतै दुईवटा बसमा सवार यात्रुहरुको मात्र समावेश छ ।)


