
काठमाडौं । भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन् । हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ ।
मेचीनगर नगरपालिकाको वडा १, ४ र ५ बाहुनडाँगी क्षेत्रमा एक हप्तायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका रहेको हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् ।
नाकामा हात्ती रोक्न, स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को सङ्ख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ ।
सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्ने, बेलुका ६ बजेपछि हात्ती हेर्ने निहुँमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्र्याक्टर परिचालन गर्ने, ट्र्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिँडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्नेलगायत निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीको सीमावर्ती तीन वटा वडामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबारको आवश्यक मर्मत सम्भारका लागि प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।


