
झापा । इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको ज्यान गएको छ । हाल्माहेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य २० जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेशियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
स्थानीय समयअनुसार आज बिहान ७ बजेर ४१ मिनेटमा ज्वालामुखी विस्फोट भएको हो । स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फसेका २० जना पदयात्रीको खोजी गर्न प्रहरीसहित दर्जनौँ कर्मचारी खटाइएको छ । रामदानीले ९ जना पदयात्री सिङ्गापुरका रहेका बताउनुभएको छ ।
वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल १७ देखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द रहेको थियो ।
अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई ज्वालामुखी गतिविधिको केन्द्र रहेको मालुपाङ वारिराङ क्रेटरबाट ४ किलोमिटर टाढा रहन भनेका छन् । माउन्ट डुकोनोमा मार्चदेखि यता झन्डै २०० पटक ज्वालामुखी विस्फोट भइसकेका छन् ।


