२०८३ वैशाख २५ शुक्रवार , ०७:२८:४६ बजे

Sajhamanch
'

मनसुन २०८३ : मौसम विभागले सार्वजनिक गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।

कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि यो विभिन्न भेगमा फरक–फरक छ ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यो प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्म अवधिको हो ।

यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ ।

मौसमविद हुमागाईंका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ ।

यसैगरी कोशी प्रदेशका मध्य भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना स्थान विशेष अनुसार फरक-फरक छ ।

सम्बन्धित खबर