
झापा । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न झापाका सबै स्थानीय सरकारलाई आह्वान गर्दै नेपाल पत्रकार महासंघ झापाले आज मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराललाई ज्ञापनपत्र बुझाएको हो । जिससमार्फत महासंघले झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको हो ।
७ बुँदे मागसहितको ज्ञापनपत्र महासंघ अध्यक्ष गिरी, पूर्व अध्यक्ष चिन्तामणि दहाल, महासंघ पदाधिकारी, सदस्य, संगठनका प्रतिनिधिहरुको सामुहिक उपस्थितिमा बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख बरालले सबै स्थानीय सरकारलाई महासंघको ज्ञापनपत्र पठाउने बताए ।
महासंघ झापाका अध्यक्ष गिरी र सचिव पाठकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा ‘सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने बारेको निर्णय र परिपत्र तत्काल खारेज गरियोस् र झापाका सबै स्थानीय सरकारलाई संघीय सरकारको यो निर्णय कार्यान्वयन नगर्नुहुन आह्वान गर्दछौं’ भन्ने माग छ ।
उक्त परिपत्रलाई आधार बनाएर झापाका केही स्थानीय तहले अर्को निर्णय नभएसम्मका लागि भन्दै स्थानीय सञ्चारमाध्यमलाई दिँदैआएको लोक कल्याणकारी विज्ञापनको भुक्तानी रोक्का गरेकाले लोककल्याणकारी विज्ञापनको भुक्तानीको तत्काल व्यवस्था मिलाइयोस् भन्ने माग गरिएको छ ।
उक्त ज्ञापन पत्रमा संविधान र संघीयताको मर्म र भावना अनुसार स्थानीय विज्ञापन अनिवार्यरुपमा स्थानीय सञ्चार माध्यममा प्रकाशन प्रशारणका लागि तत्काल व्यवस्था मिलाइयोस् तथा सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस् भनिएको छ ।
यसैगरी, अनलाइन सञ्चारमाध्यमको समेत वर्गीकरणको व्यवस्था गरी तिनीहरुलाई पनि लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको तत्काल व्यवस्था मिलाइयोस्, संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवर्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाईयोस् तथा समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरियोस् र सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गरियोस् भन्ने माग गरिएको छ ।
उक्त ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाडौं र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति बिराटनगरलाई बोधार्थ पनि दिइएको छ ।


