
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरु भएको दुई महिना पूरा भएको छ । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरु गरेका थिए ।
इरानले प्रतिआक्रमणसँगै हर्मुजमा पकड कायम गरेको छ । यस बीचमा पाकिस्तानको मध्यस्थतामा पहिलो चरणको वार्ता भए पनि त्यो वार्तामा ठोस सहमति हुन सकेन । त्यस्तै दोस्रो चरणको वार्ता पनि अन्योलमै छ ।
विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज मार्गको आफ्नो नियन्त्रण हटाउने इरानले प्रस्ताव अघि सारेको छ । ‘स्ट्रेट अफ हर्मुज’माथिको नियन्त्रण हटाउने तर अमेरिकाले गरिरहेको नाकाबन्दी पनि हट्नुपर्ने इरानको प्रस्तावबाट कूटनीतिक समीकरण झनै जटिल बनेको छ ।
इरानले नयाँ शान्ति वार्ताका लागि अघि सारेको पछिल्लो प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार नगर्ने सङ्केत गर्नुभएको छ । इरानले आफ्नो विवादित परमाणु कार्यक्रमबारे पछि मात्र छलफल गर्ने गरी पठाएको प्रस्तावमा ट्रम्पले असहमति जनाएको सीएनएनले जनाएको छ ।
परमाणु कार्यक्रम र युरेनियम भण्डारणको मुद्दा समाधान नगरी ‘हर्मुज जलमार्ग’ मात्र खोल्न अनुमति दिँदा वार्तामा अमेरिकाको दबाब कमजोर हुने अमेरिकी अधिकारीको विश्लेषण छ ।
ह्वाइट हाउसले यस कूटनीतिक छलफलका बारेमा विस्तृत विवरण नदिएको अनि अमेरिकी हितलाई केन्द्रमा राखेर मात्र सम्झौता हुने जनाएको खबरमा उल्लेख छ ।
ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य नगरी कुनै दीर्घकालीन समाधान सम्भव नहुने अडान दोहोर्याउनुभएको हो । यसैबीच इरानलाई रुसको कूटनीतिक समर्थन जारी रहने रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच भेटवार्ता भएको रुसी सरकारी न्युज एजेन्सी तासले पुष्टि गरेको छ ।
सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति पुटिन र इरानका विदेश मन्त्री अराघचीबीच भएको भेटवार्तामा पुटिनले मध्यपूर्व क्षेत्रमा शान्ति स्थापना गर्न हर सम्भव कदम चाल्ने आश्वासन इरानलाई दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


