
बिर्तामोड । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई साबुन, फिनेल तथा हार्पिक बनाउने दुई दिवसीय तालिम सञ्चालन गरेको छ ।
गरामनी सेवा केन्द्रको व्यवस्थापनमा सञ्चालित तालिममा बिर्तामोड, गरामनी, भद्रपुर लगायत स्थानबाट करिब ४० जनाको सहभागिता छ । तालिमको सहजीकरण अस्मिता संग्रौलाको टिमले गरिरहेको छ । यस्तो तालिम झापाका विभिन्न स्थानमा गरिँदै आएको र यो पाँचौ चरणको तालिम भएको संस्थाले जनाएको छ ।
तालिमको पहिलो दिन प्रशिक्षकहरुले तितेपाती, दूध, मह वा अन्य वस्तुहरु सोपबेशमा मिलाएर विभिन्न फ्लेवरमा घरेलु एवम् औषधीजन्य साबुन उत्पादन गर्न सिकाइरहेको गरामनी सेवा केन्द्र प्रमुख कल्पना भट्टराईले बताउनु भयो ।

संस्थाले सदस्यहरुमा उद्यमशीलता अभिवृद्धि गर्दै स्वरोजगार बन्न प्रेरणा दिने उद्देश्यले यस्तो तालिम प्रदान गरिरहेको शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका कोषाध्यक्ष मेहरमान विष्ट बताउनु हुन्छ ।
तालिममा सहभागी संस्थाका सदस्यहरुले उद्यमशील बन्न चाहेमा सहकारीले कर्जा प्रवाह गरी उहाँहरुलाई ब्यवसायी बनाउन सकिने गरी यस्तो तालिम प्रदान गरिँदै आएको शिक्षा तथा तालिम उपसमितिका सदस्य बद्री प्याकुरेल बताउनु हुन्छ ।
महिला सदस्यहरुमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले उद्यमशीलता लक्षित तालिमहरु निरन्तर सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।


