
अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
घटनापछि जेडी भान्स र ट्रम्पको मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानतर्फ लगेका थिए । प्रारम्भिक विवरणअनुसार राष्ट्रपति, उपराष्ट्रपति तथा मन्त्रिपरिषद्का सदस्यहरू सबै सुरक्षित रहेका छन् ।
एक सुरक्षा अधिकारीले कार्यक्रमस्थलमा बन्दुकधारीले गोली चलाएको पुष्टि गरेका छन् । सीएनएनका अनुसार, राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित छन्, भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरू सकुशल रहेको बताएका छन् ।रिपोर्टहरूका अनुसार, डिनर चलिरहँदा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एजेन्टहरूले ‘गोली चलेको’ भन्दै चेतावनी दिएका थिए । त्यसपछि रेडियो सन्देशमार्फत एक शंकास्पद आक्रमणकारीलाई हिरासतमा लिइएको जानकारी गराइएको उल्लेख छ ।
घटनापछि कार्यक्रमस्थल वासिङटन हिल्टनको बैंक्वेट हललाई सुरक्षाकर्मीहरूले घेरा हालेका थिए । सयौँ पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए, भने सुरक्षाकर्मीहरूले मानिसहरूलाई तल झुक्न र सुरक्षित मार्गतर्फ जान निर्देशन दिएका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार, पाँचदेखि आठ राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो । ट्रम्पको भाषणको प्रतीक्षामा रहेका सयौँ वरिष्ठ पत्रकार, सेलिब्रेटी तथा राष्ट्रिय नेताहरूबीच हललाई तत्काल खाली गराइएको थियो ।
घटनापछि नेसनल गार्डका सदस्यहरूले भवनभित्र सुरक्षा व्यवस्था थप कडा पारेका छन् । मानिसहरूलाई भवनबाट बाहिर जान अनुमति दिइए पनि पुनः प्रवेशमा रोक लगाइएको छ । होटेल बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ र वरपरको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ । यस प्रतिष्ठित कार्यक्रममा अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरू, पत्रकारहरू र सार्वजनिक व्यक्तित्वहरूको व्यापक उपस्थिति रहेको थियो ।एजेन्सी


