
काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि शनिबार दिउँसोबाट सिनामंगलको गैह्रीगाउँ बस्ती खाली गराउने क्रम सुरू भएको समाचार सेतोपाटीमा प्रकाशित छ।
थापाथलीमा जस्तै गैह्रीगाउँमा पनि धेरैजसो बसोबासी आ आफैं कोठा खोजेर सरिरहेका छन्। कोठा नपाएकाहरूलाई उनीहरूको सामानसहित रंगशालाको स्क्रिनिङ केन्द्रमा लगिँदैछ।
गैह्रीगाउँको अवस्था थापाथलीको भन्दा अलि फरक छ। थापाथलीमा स-साना झुपडी मात्र थिए। ती झुपडी तथा अन्य भौतिक संरचना मान्छे हटेपछि केही घन्टामै डोजर चलाएर भत्काइएको थियो। गैह्रीगाउँमा भने झुपडी सँगसँगै केही पक्की घर पनि भएकाले भत्काउन समय लाग्ने देखिएको छ।
कतिपय घरमा त भाडामा मान्छे बसोबास गरिरहेका छन्। उनीहरूले सडकपट्टि पसल पनि चलाइरहेका छन्। त्यस्ता डेरावाला र व्यवसायीहरू एक्कासी ठाउँ खाली गर्नुपर्दा प्रभावित छन्। उनीहरू सुकुम्बासी नभएकाले रंगशाला जाने अवस्था छैन। आफैं कोठा खोज्न पर्याप्त समय पनि उनीहरूले पाएनन्। प्रहरीले उनीहरूका सामान बाहिर सार्न मद्दत भने गरिरहेका छन्।
गैह्रीगाउँमा करिब एक घन्टा अघिबाट डोजर चलाउन थालिएको छ। तीलगंगा र शान्तिनगर तर्फबाट दुई दुईवटा डोजर चलाइएका छन्। यो समाचार तयार पार्दासम्म शान्तिनगर तर्फबाट चलाइएका डोजरले १५-२० वटा झुपडी भत्काइसकेका छन्।
थापाथलीमा जस्तै यहाँ पनि महानगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरीले गन्तव्यसम्म सामान सार्न सवारी साधनको मद्दत दिइरहेको छ। कतिपय आफैं कोठा खोजेर सरिरहेका छन्। कतै जाने ठाउँ नभएकाहरूलाई सुरक्षाकर्मीले रंगशाला पुर्याउन थालेको छ।
यसरी सरकारको निर्देशन अनुसार चुपचाप बस्ती छाडेर हिँड्न लागेकी एक महिलाले भनिन्, ‘पहिले त हामीले मुठभेड गरेकै हो। सरकारले उचित व्यवस्थापन नगरी बस्ती हटाउन आउँदा पटक पटक प्रतिरोधमा ओर्लिएका हौं। तर यसपालि हामी हार्यौं, हामीले राज्यको अगाडि हार स्वीकार गर्यौं।’
‘अब हामी राज्यले जहाँ लगेर राख्छ, त्यहीँ जान्छौं’ उनले भनिन्।
यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ आफ्नो घरको सामान सार्न माइकिङ पनि गरिरहेको छ।

डोजर चल्ने सूचना पाएपछि सिनामंगल सुकुम्बासी बस्तीका दीपक ढुंगानाले घरका सबै सामान सडकछेउ थुपारेका छन्। शुक्रबार साँझ ७ देखि ९ बजेसम्म माइकिङ गरिएकाले रातभरि सामान निकालेको उनले बताए।
‘रातभर निद्रा लागेन। पहिले पनि यस्तो अवस्था आउँथ्यो, तर अहिले झन् डर लागिरहेको छ’, उनले भने, ‘रातभर प्रहरी बस्यो—निगरानी मात्र हो कि, छानबिन पनि गरेको भए हुन्थ्यो।’
ढुंगानाका अनुसार बालबालिकामा समेत त्रास फैलिएको छ। बच्चाहरू पनि डोजरले सबै खरानी बनाउँछ रे, बिरूवासमेत उखेल्ने रे भन्दै छन्।
यही बस्तीमा रहेकी मेनुका गुरूङ ४५ वर्षअघि बच्चा बोकेर धरानबाट यहाँ आएकी थिइन्। श्रीमानबाट अलग भएपछि काठमाडौं आएर यहीँ ज्यामी काम गर्दै परिवार हुर्काएको उनले बताइन्।
‘आँसुमा पौडी खेलेर यस्तो काम राम्रो हुँदैन’, उनले भनिन्, ‘हामीलाई कहाँ जाने भन्ने केही टुंगो छैन।’
उनका नाति पनि यो ठाउँ छाडेर कहाँ जाने, कहाँ पढ्ने भन्ने अन्यौलमा छन्।
तीन सन्तानकी आमा सीता पाठक पनि उस्तै चिन्तामा छन्।
‘कहाँ जाने, बच्चालाई के खुवाउने—केही थाहा छैन’, उनले भनिन्।
४६ वर्षीया मुकुना दर्जी २२ वर्षदेखि सिनामंगलमा बस्दै आएकी छन्। उनको सात जनाको परिवार छ।
‘अब कहाँ जाने थाहा छैन। कोठा खोज्दा पनि पाइएन। साना–साना बच्चा छन्, के गर्ने अन्योलमा छौं’, उनले भनिन्।
त्यस्तै, ४३ वर्षीया सुमित्रा परियार २०४० सालदेखि यही क्षेत्रमा बस्दै आएकी छन्। विवाहपछि नै यहीँ बसोबास सुरू गरेको उनले बताइन्।
‘अहिले सामान आफन्तकहाँ सार्दैछौं। कोठा खोज्दा पनि पाइँदैन। सरकारले केही व्यवस्था गरिदिन्छ कि भन्ने आशा छ’, उनले भनिन्।
कालिकादेवी दमाई (शर्मिला नेपाली) यहाँ बसोबास गर्न थालेको १८ वर्ष भयो।
‘अरूको घरमा भाँडा माझेर जीविका चलाउँछु, श्रीमान् सिलाइको काम गर्नुहुन्छ। तीन सन्तानमध्ये दुई जनाले पढाइ छाडिसके। यहीँ बस्न दिएको भए काम गरेर खान्थ्यौं’, उनले भनिन्।
छोटो समयमै घर खाली गर्न भनिएकाले कोठा नपाएको उनको गुनासो छ।
डोजर आउने डरले उनले सामान सडकमा निकालेर राखेको बताइन्।
जिन्दगीभर जोडेको सामान माया लागेर बाहिर निकालेर राखेकी हुँ, उनले भनिन्।


