
भद्रपुर । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६-० को फराकिलो जीत निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ ।
पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो । क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन् । डिबक्समा रहेकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन् । पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन् ।
खेलको २९औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन् । ३८औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन् ।

पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्को गोल थपिन् ।
रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो । खेलको ७७औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन् । मिना देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन् ।
चन्द्रगढीले विपक्षी माथि फितलो प्रदर्शन गरेको थियो । पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोल किपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा बिष्टले पोष्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता पुलिसकी ह्याट्रिककर्ता रेखा पौडेल भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र ओखलढुंगाको पद्मा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।


