
झापा । हालैमात्र निवर्तमान बन्नुभएका संस्थाका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरु एवम् लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सतासी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको नयाँ समितिले सम्मान गर्दै अन्य उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेको छ।
संस्थाका नवनिर्वाचित अध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा आज आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष रूद्रमणि श्रेष्ठसहित पूर्व सञ्चालक समिति र पूर्व लेखा सुपरिवेक्षण समितिका निवर्तमान पदाधिकारीहरूलाई सम्मान गरिएको हो ।
राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. का सिइओ लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थालाई पुनःजीवन दिएर २०६२ सालदेखि २०८२ सम्म २० वर्ष कुशल नेतृत्व प्रदान गरी राष्ट्रिय पहिचान बनाउन सफल निवर्तमान अध्यक्षसहित सञ्चालकहरुलाई सम्मान गरिएको जनाइएको छ ।

संस्थाका नवनिर्वाचित उपाध्यक्ष शर्मिला अधिकारीले शाब्दिक स्वागत गर्नुभएको उक्त सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक दिनेश शाक्य, सञ्चालक समितिका निवर्तमान उपाध्यक्ष सुजता गुरुङ थापा मगर, सञ्चालक समितिका निवर्तमान सदस्यहरु जीवनकुमार प्रधान, ध्रुब कनाल, पोषराज घिमिरे, कुमार दर्नाल र लेखा सुपरीवेक्षण समितिका निवर्तमान सदस्य रविना दाहाललाई सम्मान-पत्रसहित कायाको चिन्हो प्रदान गरी सम्मान गरिएको हो ।
उहाँहरुलाई प्रदान गरिएको सम्मान-पत्रमा ‘तपाईंहरुको दृढ ईच्छाशक्ति एवम् दूरदर्शी सोचका कारण सतासी सहकारी संस्था समुदायमा एउटा विश्वसनीय वित्तीय सम्वाहकका रुपमा स्थापित हुन सकेकोले यही योगदानको प्रशंशाा गर्दै सम्मान गरिएको’ उल्लेख छ ।

यसैगरी सोही कार्यक्रममा संस्था स्थापना दिवसमा हुँदै आएको वार्षिकोत्सव कार्यक्रममा वितरण गर्ने पुरस्कारसमेत वितरण गरिएको छ । यो वर्ष फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनका कारण उक्त दिन वार्षिकोत्सव मनाउन पाइएको थिएन ।
सोहीअनुसार आर्थिक वर्ष २०८१/८२ मा कारोबारका आधारमा उत्कृष्ट कारोबार गर्ने बालबचतकर्ताहरु आरसी अधिकारी, अनुष्का सुनुवार, सुदिप फुयाँल, उमंग श्रेष्ठ, रोजिना राजवंशी र कमल पाठकलाई सम्मान तथा पुरस्कृत गरिएको हो।
त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ जसबहादुर विश्वकर्मा, कोपिला चौहान, सृजना खतिवडा, जसोदा नेम्बाङ, कैलाश राउत, दिलमाया वान्तवा पुरस्कृत हुनुभयो भने उत्कृष्ट ऋणीतर्फ मंगली माझी, पदमबहादुर अधिकारी, धर्मेन्द्र भट्टराई, जुनु एक्तेन लिम्बू, कासीन राजवंशी र महेश मुखियालाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने कर्मचारी वित्तीय कर्मचारीतर्फ गरामनी सेवाकेन्द्र प्रमुख बिपना न्यौपाने, बजार प्रतिनिधितर्फ विमला थापा, पसल कर्मचारीतर्फ बिर्तामोडको पसल २ का क्यासियर आशिका कार्कीलाई सम्मान तथा पुरस्कृत गरियो ।
संस्थाका सदस्य सचिव झलेन्द्रप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष सन्तोषकुमार श्रेष्ठले कार्यक्रमिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि उप्रेती, संस्थाका निवर्तमान अध्यक्ष रूद्रमणि श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका संयोजक मिलनराज प्रसाईंले आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।


