२०८२ चैत ३० सोमवार , ०८:२४:३८ बजे

Sajhamanch
'

मुन्धुमी शक्ति केन्द्र मेन्छ्यायेम डाँडा

सोमवार, चैत ३०, २०८२

तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती पहाडी काखमा अवस्थित मेन्छ्यायेम डाँडा लिम्बु समुदायको आस्था, पहिचान र इतिहाससँग गहिरोसँग जोडिएको एक पवित्र मुन्धुमी स्थल हो ।

समुद्री सतहबाट ३,१४१ मिटर उचाइमा फैलिएको यो डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण मात्र होइन, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिन्छ । थाक्थुङ लिम्बु जातिको मौलिक पहिचानकै रूपमा परिचित यस स्थानले प्रकृति र परम्पराको अद्भुत संगम प्रस्तुत गर्दछ ।

लिम्बु भाषामा ‘मेन्छ्या’ भनेको ‘तरुनी’ र ‘येप’ भनेको ‘उभिएको’ भन्ने अर्थ हुन्छ । यही ‘मेन्छ्यायेप’ शब्द कालान्तरमा उच्चारण परिवर्तन हुँदै ‘मेन्छ्यायेम’ बनेको किंवदन्ती आज पनि प्रचलित छ । टाढाबाट हेर्दा तरुनी उभिएझैँ देखिने यसको आकृतिले यस कथालाई थप जीवन्त बनाएको छ । यसै कारण यो डाँडा केवल भूगोलको विषय नभई सांस्कृतिक मिथक र जनविश्वासको जीवित प्रतीक बनेको छ ।

लिम्बु समुदायको मौलिक धर्मग्रन्थ ‘मुन्धुम’ अनुसार मेन्छ्यायेम डाँडा अत्यन्तै पवित्र स्थल मानिन्छ । फेदाङमा (पुजारी) हरूले गर्ने विभिन्न पूजा–आजा तथा कर्मकाण्डमा यस डाँडाको स्मरण अनिवार्य मानिन्छ । फेदाङमा सिरिहाङ लिम्बुका अनुसार मुन्धुमसँग प्रत्यक्ष सम्बन्धित भएकै कारण यहाँबाट प्राप्त हुने आध्यात्मिक शक्ति नै मन्त्र र विधिहरूको आधार मानिन्छ। यसैले मेन्छ्यायेम डाँडा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको छ ।

मुन्धुमी मान्यताअनुसार प्रत्येक लिम्बुले जीवनमा कम्तीमा एकपटक यस डाँडामा पुगेर आफ्नो जातीय इतिहास र संस्कारसँग साक्षात्कार गर्नुपर्छ भन्ने विश्वास छ । पुरुषले छेलो हान्न सक्ने र महिलाले तान बुन्न जान्नुपर्ने परम्परासँग पनि यो स्थल गहिरोसँग जोडिएको छ, जसले सामाजिक संरचना र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिने काम गर्दछ ।

लिम्बु समुदायको प्रसिद्ध तीनराते ‘तङ्सिङ मुन्धुम’ मा पनि मेन्छ्यायेम डाँडाको विशेष वर्णन पाइन्छ । धार्मिक गायनको क्रममा कथा जब यस डाँडासम्म आइपुग्छ, त्यहाँ गायन–वाचन रोकिने परम्परा आजसम्म कायम छ ।

किंवदन्ती अनुसार प्राचीन समयमा तन्देरी–तरुनी र किशोर–किशोरीहरू यहीँ भेला भएर जीवनका खुसी, प्रेम र उमंग साटासाट गर्थे । यही जमघटबाट मुन्धुमी गायन परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । आज पनि साम्बा र येबाहरू हा:क्पारे लयमा गीत गाउँदै यस सांस्कृतिक परम्परालाई जोगाइरहेका छन्।

हाल मेन्छ्यायेम डाँडामा ‘तरुनी उभिएको’ आकृतिलाई मूर्तरूप दिन स्तम्भ निर्माण कार्य सुरु गरिएको छ । साथै, पर्यटक तथा तीर्थालुहरूको सहज पहुँचका लागि फुटट्रयाक, सिँढी र रेलिङजस्ता आधारभूत संरचनाहरू निर्माण भइरहेका छन्। मुन्धुमी चोलुङ मेन्छ्यायेन संरक्षण प्रतिष्ठानका अध्यक्ष खगेन्द्र चोङबाङका अनुसार यस स्थलको संरक्षण, प्रचार–प्रसार र विकासका लागि विभिन्न तहका सरकारसँग समन्वय भइरहेको छ ।

स्थानीयवासी सन्तोष लिम्बुका अनुसार योजनाबद्ध विकासले यस क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सक्छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गहिराइको संगमका रूपमा रहेको मेन्छ्यायेम डाँडा अझै संरक्षण र व्यवस्थित विकासको प्रतीक्षामा छ ।

 यदि यसलाई दिगो र योजनाबद्ध रूपमा अघि बढाइयो भने, यसले लिम्बु समुदायको सांस्कृतिक पहिचानलाई मात्र सुदृढ बनाउने होइन, पूर्वी नेपालको धार्मिक तथा प्राकृतिक पर्यटनलाई समेत नयाँ आयाम दिन सक्ने सम्भावना बोकेको छ । आज पनि मेन्छ्यायेम डाँडा तरुनी उभिएझैँ अडिग उभिएको छ । इतिहास, आस्था र संस्कृति बोकेर भावी पुस्तालाई पहिचानको सन्देश दिइरहेको एक अमूल्य धरोहरका रूपमा मेन्छ्यायेम डाँडा रहँदै आएको छ ।

सम्बन्धित खबर