
विराटनगर । कोशी प्रदेश सभा चलिरहँदा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी प्रमुख सचेतक विहीन भएका छन् ।
प्रदेश सभा चलिरहँदा सचेतक र प्रमुख सचेतकको भूमिका महत्त्वपूर्ण रहने गरेको छ । प्रमुख सचेतकको भूमिका महत्त्वपूर्ण भए पनि ती दलहरूले प्रमुख सचेतक छान्न सकेका छैनन्।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पछिल्लो पटक मन्त्रीहरूको हेरफेर गर्दा प्रमुख सचेतक विदुर लिङ्थेपलाई मन्त्री बनाएको थियो । प्रमुख सचेतक लिङ्थेप पुस २२ गते आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि एमालेले प्रमुख सचेतक नियुक्त गर्न सकेको छैन ।
प्रमुख सचेतक नहुँदा सचेतक ललिता चौधरीले प्रमुख सचेतकको काम कारबाही गर्दै आएकी छन् । एमालेमा रिक्त रहेको प्रमुख सचेतक पद नियुक्त गर्न प्रदेश सभा सदस्यहरूले माग गर्दै आएका छन् । यसै गरी कोशी प्रदेश सभामा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले पनि प्रमुख सचेतक र सचेतक तोक्न सकेको छैन ।
दलको नेताको रूपमा भने तत्कालीन नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वोले जिम्मेवारी पाएका छन् । आङ्वोलाई दलको नेताको रूपमा सिफारिस गर्दै प्रदेश सभामा पत्र आएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएका तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । पार्टी एकीकरण पछि प्रमुख सचेतक र सचेतकको जिम्मेवारी तोकी नसकिएको संसदीय दलका नेता आङ्वोले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी चाँडै नै जिम्वेवारीहरु बाँडफाँड गरेर टुङ्गाउँछौ । अहिलेलाई दलको नेताको बारेमा मात्रै टुङ्गो लागेको छ ।’
जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र प्रदेश सभामा तोडफोड र आगजनी भएपछि लामो समय प्रदेश सभाको बैठक बस्न सकेको थिएन । कटहरी स्थित कृषि थोक बजारमा प्रदेश सभा सचिवालय सारिए पनि प्रदेश सभा भवन नबन्दा विराटनगर महानगरको स्वामित्वमा रहेको विराटनगर सभा गृहमा प्रदेश सभाको बैठक बस्दै आएको छ ।


