
तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल भौतिक पूर्वाधार मात्र होइन, यो उनीहरूको दैनिकी, सम्भावना र भविष्यसँग जोडिएको छ ।
यो सडक आठराई र फेदापका नागरिकलाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र माध्यम हो । तर, विडम्बना, मध्यपहाडी लोकमार्गअन्तर्गत खोरङ्वा खोलादेखि यावरासम्मको १० किलोमिटर सडकखण्डले दशक बित्दा पनि पूर्णता पाउन सकेको छैन ।
२०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कम्पनीले फेदाप गाउँपालिकाको उक्त सडक खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको थियो । ३९ करोड १८ लाखभन्दा बढी लागतमा २०७४ सालभित्र काम सम्पन्न गर्ने सम्झौता गरिए पनि आजसम्म सडक निर्माण कार्य पूरा हुन सकेको छैन । सात पटक म्याद थप भइसकेको यो आयोजना अहिले आठौं पटक म्याद थप्ने तयारीमा छ । निमार्ण कम्पनी सम्पर्कमा छैन ।
तेह्रथुम जिल्लामा पर्ने मध्यपहाडी राजमार्गको कुल ११९ किलोमिटरमध्ये १०९ किलोमिटर सडक पक्की भइसकेको छ । तर, फेदाप क्षेत्रको यही १० किलोमिटर खण्ड अझै अधुरो छ । जहाँ अन्य स्थानमा सडकले गति समातेको छ, त्यहीँ फेदापका बासिन्दा भने अझै धुलो र हिलोबीच यात्रा गर्न बाध्य छन् ।
हिउँदमा यो सडक धुलाम्मे हुन्छ । सवारी गुड्दा उठ्ने धुलोले घर, पसल र खेतबारी ढाकिन्छ, जसले स्वास्थ्यमा समेत असर पुर्याउँछ । बर्खा लागेपछि सडक हिलाम्मे बन्छ, कतै गाडी फस्छ, कतै पानी बगेर सडक नै खोलाजस्तो देखिन्छ । यस्तो अवस्थामा सवारी सञ्चालन हुन मुस्किल हुन्छ ।
स्थानीय बासिन्दा सिम्लेकी दिलकुमारी लिम्बु भन्छन्,’बच्चा विद्यालय जानका साथै, बिरामीलाई अस्पताल लैजान समेत समस्या छ । बजार जानु भने झन् कठिन-धुलाम्मे सडकमा पैदल हिँड्नु पर्यो । कहिलेकाहीँ त सवारी साधन नै हिलाम्मेमा फस्छ ।’
सडक अधुरो रहँदा आवश्यक पर्खाल, नाला र सुरक्षात्मक संरचना निर्माण हुन सकेका छैनन् ।जसका कारण वर्षायाममा पहिरोको जोखिम बढेको छ ।
डम्बर कुमारी बास्तोला भन्छिन्, ‘सडक बनाउने भन्दै जमिन काटियो, तर संरक्षण गरिएन । अब वर्षा लागेपछि घरमै बस्दा पनि डर लाग्छ । कहिलेकाहीँ राति सुत्दा पनि पहिरोको डरले निन्द्रा आउँदैन ।’

सडक खण्डमा सवारी सञ्चालन गर्नु चालकहरूका लागि चुनौतीपूर्ण मात्र होइन, आर्थिक रूपमा घाटाको विषय पनि बनेको छ । गाडी बिग्रिने, भासिने र दुर्घटनाको जोखिमले व्यवसाय असुरक्षित बनेको छ ।
सवारी चालक जयदेव शाह भन्छन्, ‘म बिहान उठ्छु, सवारी लिएर सडकमा आउँछु । हरेक यात्रा तनावपूर्ण हुन्छ । कहिलेकाहीँ गाडी हिलोमा फस्छ, कहिलेकाहीँ भासिन्छ । घाटा व्यहोर्नु परेको छ । कहिलेकाहीँ त दुर्घटना नजिकै देख्दा डर लाग्छ । तर परिवार चलाउन सकिनुपर्छ भन्ने बाध्यताले म सवारी चलाउँछु ।’
उनको व्यक्तिगत अनुभवले देखाउँछ-सडक अधुरो रहँदा केवल समय र पैसाको मात्र घाटा हुँदैन, जीवन नै जोखिममा पर्छ । स्थानीय पर्यटन व्यवसायी बमबहादुर लिम्बु भन्छन्, ‘सडक राम्रो भए यहाँ धेरै पर्यटक आउन सक्थे । यहाँ त रिसोर्ट, होमस्टे राख्न सकिन्छ । तर अहिलेको अवस्थाले सम्भावना भएर पनि उपयोग हुन सकेको छैन । पर्यटक आउँदैनन, स्थानीय रोजगार पनि सिर्जना हुँदैन ।’
सडकको ढिलाइमा निर्माण कम्पनीको लापरबाही मात्र होइन, अनुगमन र मूल्याङ्कनको अभाव पनि प्रमुख कारणका रूपमा देखिन्छ । योजना घोषणा, बजेट विनियोजन र ठेक्का सम्झौता भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्ने गरेका छन्।
स्थानीयहरूले भन्छन्, ‘सडक बनेको भए बच्चा पढ्न सजिलो हुन्थ्यो, बिरामीलाई अस्पताल पुग्न समय बच्थ्यो, बजारमा सामान पठाउन सकिन्थ्यो, पर्यटनले रोजगार दिन्थ्यो । तर अब दश वर्ष बित्दा पनि हामी धुलाम्मे र हिलोबीच सधैं संघर्ष गर्दैछौं ।’
दशक लामो प्रतीक्षामा पनि अधुरो रहेको यो १० किलोमिटर सडक केवल एउटा परियोजना होइन, यो देशकै पूर्वाधार विकास प्रणालीको प्रतिबिम्ब बनेको छ । स्थानीय बासिन्दा, सवारी चालक र पर्यटन व्यवसायीहरूको अनुभवले देखाउँछ-जबसम्म योजना कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमन हुँदैन, तबसम्म यस्ता अधुरा सडकहरू विकासका प्रतीक होइन, असफलताका उदाहरण बनिरहनेछन् ।
फेदापको धुलाम्मे र हिलाम्मे बाटो अब केवल प्रश्न मात्र उठाएको छैन, यसले निमार्ण कम्पनीहरु माथी नै प्रश्न चिह्न बनेको छ । विकास केवल कागजमा होइन, जनताको जीवनमा महसुस हुनुपर्छ, अनि मात्र फेदापको सडक साँच्चै विकासको बाटोमा रूपान्तरण स्थानीयको विश्वास बन्नेछ ।


