
काठमाडौं । भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएक्स)बाट ३ वैशाख (१६ अप्रिल)देखि नेपाललाई दैनिक १६ घण्टा मात्रै विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सोमबार आइइएक्सबाट खरिद गर्न पाउने विद्युत्को अनुमतिपत्र नवीकरण गर्दै समय घटाएको हो । तर, खरिद गर्न पाउने विद्युत्को परिमाण भने बढाएको छ ।
भारतले आइइएक्सबाट चौबिसै घण्टा ६५४ मेगावाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई दिएको अनुमतिपत्रको म्याद आज मंगलबारसम्म छ । हिजो सोमबार भारतले १ अप्रिलपछिका लागि अनुमतिपत्र नवीकरण गर्दै विद्युत् पाउने समय घटाएको हो । नयाँ अनुमतिअनुसार अप्रिल १ देखि १५ तारिखसम्म २४ घण्टा नै विद्युत् पाइनेछ ।
त्यसपछि भने दैनिक १६ घण्टा विद्युत् पाउने गरी अनुमति आएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । उनका अनुसार अप्रिल १६ देखि ३० तारिखसम्म बिहान दुईदेखि साँझ ६ बजेसम्म विद्युत् पाइनेछ । त्यसपछि मे, जुन, जुलाई र अगस्ट महिनामा भने बिहान चारदेखि बेलुका आठ बजेसम्म विद्युत् पाउने गरी अनुमति प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । भारतले यसअघि राति र पिक आवरमा विद्युत् दिने गरेको थिएन । त्यो नियति यसपालि पनि दोहोरिएको हो ।
तर, भारतले नेपाललाई दिने विद्युत्को परिमाण भने बढाएको छ । यसअघि ६५४ मेगावाट विद्युत् खरिद गर्न पाइने थियो । तर, अब ९५० मेगावाटसम्म विद्युत् खरिद गर्न पाइनेछ । त्यसमा ४०० केभीको मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट ६०० मेगावाटसम्म विद्युत् खरिद गर्न पाइनेछ । उत्तरप्रदेशबाट थप ५० मेगावाट विद्युत् खरिद गर्न पाइने गरी अनुमति आएको छ । बिहारबाट भने अप्रिल र मेमा २२० मेगावाट र त्यसपछिका महिनामा ३०० मेगावाट विद्युत् खरिद गर्न पाउने गरी अनुमति आएको छ ।
मध्यपूर्वको तनावका कारण पनि भारतले विद्युत् दिने समय घटाएको प्राधिकरणका एक अधिकारीले बताए । ‘मध्यपूर्वको तनावले इन्धन तथा ग्यासको आपूर्ति प्रभावित भएको छ ।
यो अवस्थामा विद्युतीय चुलो, विद्युतीय गाडीजस्ता विद्युतीय उपकरणको प्रयोग बढ्ने देखिएको छ । यसले भारतमा पनि विद्युत्को माग बढ्न सक्ने भएकोले भारतले विद्युत् दिने समय घटाएको हुन सक्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर, भारतले १६ घण्टा भए पनि विद्युत् दिन्छु भनेको छ, यो सकारात्मक पक्ष हो ।’
आगामी जेठ मध्यबाट भने नेपालमा उत्पादन बढ्न सुरु गर्छ । असारदेखि निर्यात नै सुरु हुन्छ । त्यसपछिका लागि समस्या नहुने प्राधिकरणको भनाइ छ ।
बर्खामा विद्युत् निर्यात गर्ने नेपालले सुक्खा याममा भने आयात गर्नुपर्छ । त्यसमा प्राधिकरणले आइइएक्स, संयुक्त पावर एक्सचेन्ज कमिटी (पिइसी) र भारतका कम्पनीसँग पिपिए गरेर विद्युत् आयात गर्दै आएको छ । त्यसमा आइइएक्स ठुलो स्रोत हो ।
भारतबाट रातको समयमा विद्युत् नआएको अवस्थामा आन्तरिक माग धान्न केही चुनौती हुने देखिन्छ । तर, रातिको समयमा विद्युत् आयात गर्न पिइसी र पिटिसी इन्डियासँगको सम्झौता भने विकल्प छ । प्राधिकरणले पिटिसी इन्डियाबाट १८० मेगावाट विद्युत् अहिले पनि २४ घण्टा नै खरिद गरिरहेको छ । पिटिसीसँगको सम्झौताको म्याद मेसम्म छ ।
यसैगरी, केही साताअघि नेपालमै सम्पन्न पिइसी बैठकमा भारतको बिहार, उत्तर प्रदेश र उत्तरखण्डबाट आयात गरिने बिजुलीको नयाँ दर लागू गरिएको छ, जुन टेक एन्ड पे मोडेलमा हो । आवश्यक परेको त्यहाँबाट विद्युत् ल्याउन सकिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता ढकालले विद्युत् आपूर्ति प्रभावित नहुने दाबी गरेका छन् । ‘पिक आवरको समयमा बाहेक रातिको समयमा विद्युत् माग कम हुन्छ । अब हामी दिउँसो आयात बढाएर नेपालका जलाशय र अर्धजलाशय परियोजनामा पानी जम्मा गर्ने र राति त्यसबाटै उत्पादन बढाउने रणनीतिमा छौँ,’ उनले भने, ‘पिटिसीबाट त निरन्तर रूपमा १८० मेगावाट विद्युत् २४ घण्टा नै आयात भइरहेको छ । पिइसीबाट पनि आवश्यक परेको अवस्थामा बिजुली ल्याउन सकिन्छ । त्यसले गर्दा त्यति समस्या हुँदैनजस्तो लाग्छ ।’
तर, गर्मी बढेपछि भने विद्युत् व्यवस्थापनमा चुनौती हुने प्राधिकरणका एक अधिकारीले बताए । ‘अझै पनि गर्मी समय सुरु भएको छैन । त्यसले गर्दा अहिले समस्या छैन । तर, अब केही सातामा गर्मी बढ्छ । गर्मी बढेपछि विद्युत्को माग २४ सय मेगावाटसम्म पुग्छ । त्यो अवस्थामा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण हुन्छ,’ उक्त अधिकारीले बताए । यही जोखिमलाई दृष्टिगत गर्दै प्राधिकरणले भारतबाट पिपिए नै गरेर थप १०० मेगावाट विद्युत् गर्न टेन्डर गरेको थियो । तर, त्यसमा प्रस्ताव नै परेन ।


