
लस एन्जल्समा सामाजिक सञ्जालको लत बसाएको सम्बन्धमा पीडितले दायर गरेको मुद्दामा गुगल र मेटलाई जिम्मेवार ठहर गरिएको छ ।केली नामक २० वर्षीया युवतीले गुगल र मेटाले सामाजिक सञ्जालमा लत लगाउँदा आफ्नो मानसिक स्थिति खलबलिएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले युवतीको मानसिक स्थिति खलबलिनुमा मेटाको ७० प्रतिशत र गुगलको ३० प्रतिशत दोष रहेको फैसला गरेको हो ।
मेटाका वकिलहरुले केलीले आफ्नो जीवनमा कष्ट भोगेको स्वीकारे पनि आफ्ना सामाजिक सञ्जालको प्रयोगले उनमा समस्या निम्तिएको कुरामा असहमति प्रकट गरेको बीबीसीले उल्लेख गरेको छ । उक्त मुद्दामा करिब पाँच हप्तासम्म बहस चलेको थियो । बहसमा मेटाका संस्थापक मार्क जुकरबर्ग पनि उपस्थित थिए ।
अदालतको फैसलापछि मेटाले विज्ञप्ति जारी गर्दै भनेको छ,हामी यस फैसलाप्रति सम्मान व्यक्त गर्दै असहमति प्रकट गर्दछौँ । हाम्रा कानुनी विकल्पहरूको खोजी गरिरहेका छौँ ।फेब्रुअरीमा अदालतमा उपस्थित जुकरबर्गले १३ वर्ष मुनिका प्रयोगकर्तालाई आफ्ना प्लेटफर्महरुमा अनुमति नदिने नीतिमा प्रतिबद्ध रहेको भन्दै आफ्नो बचाउ गरेका थिए ।
यस मुद्दामा युट्युब जोडिँदा गुगल पनि प्रतिवादी बनेको थियो । सुनुवाइको अधिकांश प्रक्रिया भने इन्स्टाग्राम र मेटामा केन्द्रित रह्यो । सुरुमा स्न्याप र टिकटकलाई पनि मुद्दा दर्ताको तयारी थियो । अदालतमा मुद्दा जानुअघि नै दुवै कम्पनीले केलीसँग गोप्य सम्झौता गरेको बीबीसीले उल्लेख गरेको छ ।
एजेन्सी


