२०८२ चैत ९ सोमवार , ०४:३८:५० बजे

Sajhamanch
'

मोरङमा बर्डफ्लूको प्रकोप बढ्दो, पोल्ट्री फार्म प्रभावित

सोमवार, चैत ९, २०८२

विराटनगर । कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण मोरङमा तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भइरहँदा पोल्ट्री व्यवसायी र किसानहरूमा त्रास बढेको छ।

हालसम्म जिल्लाका पाँचवटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको छ। नियन्त्रणका लागि सरकारी निकायहरू सक्रिय रूपमा जुटेका छन्। पछिल्लो पटक विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार परीक्षणबाट आइतबार उक्त फार्ममा संक्रमण देखिएको हो। यससँगै मोरङमा संक्रमित फार्मको संख्या पाँच पुगेको उहाँले जानकारी दिनुभयो ।

यसअघि सुन्दरहरैँचा नगरपालिका–४ मा रहेको हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ को अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी–६ को कामख्या पोल्ट्री फार्ममा पनि बर्डफ्लू संक्रमण पुष्टि भइसकेको छ। ती स्थानहरूमा नियन्त्रण आवश्यक प्रक्रिया पूरा गरिसकिएको छ ।

संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रहरूमा कडाइ गरिएको छ। संक्रमित फार्मका कुखुरा, अण्डा, दाना, ओछ्यान तथा अन्य सामग्री नष्ट गर्ने काम तीव्र रूपमा भइरहेको प्रमुख साहले बताउनु भयो। ओसारपसारमा पनि प्रतिबन्ध लगाइएको छ। उहाँका अनुसार संक्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ।

सरकारी टोलीले संक्रमित क्षेत्रका मरेका पंक्षी र तिनका मलमूत्रलाई सुरक्षित व्यवस्थापन गर्न विशेष सावधानी अपनाइरहेको छ। त्यस्ता वस्तु खाल्डो खनेर गाड्ने र त्यसपछि औषधीय घोल प्रयोग गरेर निसंक्रमण गर्ने प्रक्रिया अपनाइएको छ। यस्तो उपायले संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

विराटनगरस्थित दाहाल कृषि फार्ममा भने विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। प्रतिवेदन तयार भएपछि उक्त फार्मका सम्पूर्ण कुखुरा नष्ट गर्ने प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। बर्डफ्लू फैलिन थालेसँगै जिल्लाभरका कुखुरा पालक किसानहरूमा चिन्ता बढेको छ।

यो रोगले छोटो समयमै ठूलो क्षति पुर्‍याउने भएकाले सतर्कता अपनाउन सरकारी निकायहरूले आग्रह गरे। कुखुरामा असामान्य लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पशु सेवा कार्यालयले अनुरोध गरेको छ। विज्ञहरूका अनुसार बर्डफ्लू अत्यन्तै संक्रामक रोग भएकाले समयमै नियन्त्रण नगरे ठूलो आर्थिक क्षति हुन सक्छ।

सम्बन्धित खबर