२०८२ चैत ९ सोमवार , ०२:१६:५३ बजे

Sajhamanch
'

सूर्यविनायक–धुलिखेल सडक विस्तार : ३ वर्षमा ६७ प्रतिशत भौतिक प्रगति पूरा

सोमवार, चैत ९, २०८२

काठमाडौं । ३ वर्षअघि शुरू भएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ ।

धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाकाअनुसार २ लेनको यो सडक ६ लेनमा विस्तार गर्न थालिएको हो । सडकको दायाँबायाँ २ सर्भिस लेन तथा २ दशमलव ५ मिटरको फुटपाथ निर्माण भइरहेको छ ।

कन्स्ट्रक्शनका प्रबन्धक रवीन्द्र श्रेष्ठकाअनुसार समग्रमा ६५ प्रतिशत तथा कालोपत्रबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । दोस्रो खण्डअन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको छ ।

यसअघि स्थानीयवासीले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको काम गएको मङ्सिर तेस्रो हप्ता शुरू भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालकाअनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ । सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।

चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा गाडीको चाप बढेको हो । यही राजमार्गमा अहिले कोटेश्वरबाट लामा–छोटा दुरीका गाडी मात्रै दैनिक २ हजार ५०० भन्दा धेरै छुट्ने गरेका छन् ।

सम्बन्धित खबर