
काठमाडौं । पृथ्वी राजमार्ग विस्तारको काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काममा बाधा पुगेको हो ।
विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।
आयोजनाको पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । पूर्वी खण्डमा सार्नुपर्ने झण्डै ५०० वटा पोलमध्ये अब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ ।
सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।
सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुगेको छ ।
प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गर्नुभएको छ ।


