
काठमाडौं । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुईरतीन महिनादेखि ग्यासको माग उच्च देखिएको र अहिले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह पनि गरेको छ । निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।


