
काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सार्वजनिक सूचना निकालेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गर्नुभएको हो ।
प्रहरीले ६ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर गाडीको कम प्रयोग गर्न र फोहर नजलाउन प्रहरीको आग्रह छ ।
बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताउनुभयो ।
यस अघि हिजो वातावरण विभाग र स्वास्थ्य मन्त्रालयले पनि सकेसम्म घरबाहिर ननिस्कन अनुरोध गरेका थिए । झन्डै एक हप्तादेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ ।



