२०८२ फागुन २७ बुधवार , ०८:२६:३६ बजे

Sajhamanch
'

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ७ अर्ब रुपैयाँभन्दा धेरै वित्तीय सहयोग

बुधवार, फागुन २७, २०८२

काठमाडौं । विश्व बैंकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड २० लाख डलर अर्थात् साढे ७ अर्ब रुपैयाँभन्दा धेरै सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ नाम दिइएको यस कार्यक्रमले विशेषगरी औद्योगिक र व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीहरूबाट निस्कने हानिकारक सूक्ष्म कणको उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ ।

यो परियोजना मुख्यतया काठमाडौं उपत्यका, तराई र पहाडी फेदीका क्षेत्रहरूमा केन्द्रित हुनेछ । वायु प्रदूषणको जोखिम उच्च रहेका ती ठाउँमा परियोजना लागू हुने विश्व बैंकले जानकारी दिएको छ ।

विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्योपचार र उत्पादकत्वमा हुने ह्रासले कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा धेरै हिस्सा ओगट्ने गरेको छ । यो परियोजनाले आर्थिक भार कम गर्न मद्दत पुग्नेछ । उद्योगहरूलाई सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग उपलब्ध गराइन्छ जसले गर्दा उद्योगहरूको सञ्चालन खर्च घट्नुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि बढ्नेछ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले यो परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ जान प्रोत्साहन गर्दै दीर्घकालीन दिगो विकासमा टेवा पुर्‍याउने बताउनुभएको छ ।

यो परियोजना विश्व बैंकको ‘इन्डो–ग्याङ्गेटिक प्लेन्स एन्ड हिमालयन फुटहिल्स’ क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको हिस्सा रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खबर