२०८२ फागुन २७ बुधवार , ०१:११:०४ बजे

Sajhamanch
'

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

बुधवार, फागुन २७, २०८२

काठमाडौं । भाषा आयोगका सदस्य एवम् नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा अस्ति सोमवार बेलुकी निधन भएको छ ।

एक कार्यक्रममा सहभागी हुने क्रममा मानन्धरलाई हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि नै डाक्टरहरूले मृत घोषणा गरेका उहाँको परिवारका सदस्यले जानकारी दिनुभयो ।

मानन्धर ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा संलग्न हुनुभएको र पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गर्नुभएको थियो । पछि ‘सन्ध्या टाइम्स’ दैनिक र त्यसपछि ‘नेपाल भाषा टाइम्स’ दैनिकमा सम्पादक भएर काम गर्नुभयो ।

‘अप्सरा’ फिल्म म्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उहाँले केही समय काम गर्नुभयो ।

सुरेश मानन्धरले विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भइराख्नुभएका जनआन्दोलनका कमान्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई अन्तर्वार्ता लिनुभएको थियो । याे अन्तर्वार्ता धेरै चर्चित भएको थियो ।

मानन्धरका ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ ।

उहाँका ‘थौंघन्टाघरं जिके ई न्यनाच्वन’ (आधुनिक कविता सङ्ग्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ । साथसाथै उहाँको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उहाँले डा. अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’/‘येँयाः’ पुस्तकसमेत लेख्नुभएको छ ।

स्व. मानन्धरको आज दिउँसो काठमाण्डाैकाे इन्द्रायणी घाटमा अत्येष्टि गरिने परिवारले जानकारी दिएको छ । विसं २०२३ कात्तिकमा जन्मनुभएका मानन्धरका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

सम्बन्धित खबर