
धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ । यो घटनालाई लिएर छानबिनका लागि समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सोमबार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उहाँलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।घटना हुँदा उहाँ कार्यालयभित्र ड्युटीमै रहेको बुझिएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
मृतक प्रहरीका आफन्तले घटना शंकास्पद भएको बताउँदै छानविनको माग गरेका छन । उनीहरूले निस्पक्षे छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् ।
साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।


