२०८२ फागुन २६ मङ्गलवार , ०४:४६:१२ बजे

Sajhamanch
'

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

मङ्गलवार, फागुन २६, २०८२

उदयपुर । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिनुभयो ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ ।

त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईकाअनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो । उहाँले युवा विदेश पलायन भइरहे पनि गाउँका बुढापाकले कोदो खेतीमा निरन्तरता दिइरहेको बताउनु भयो ।

यस पटक पहाडी क्षेत्रमा वर्षा राम्रो भएको कारण कोदो उत्पादन वृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताउनु भयो । कृषि ज्ञान केन्द्रकाअनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।

मङ्गलवार, फागुन २६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर