
रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गको बागमती पूलमा एक बालकलाई यात्रुबाहक बसले ठक्कर दिँदा उनको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६२६३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्री चन्द्रपुर १ मंगलपुर बस्ने १३ वर्षीय कृष्ण सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।
बायाँ खुट्टाको तिघ्रामा, टाउकोमा चोट लागेको देखेर उपचारका लागि वीररगञ्जतर्फ पठाएकोमा उपचारको क्रममा घाइतेको मृत्यु भएको थियो।
मृत्युपछि आफन्त तथा स्थानीयले उचित क्षतिपूर्ति तथा दोषी उपर कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग अवरुद्ध गरिरहेका हुन्। प्रहरीले राजमार्ग खुलाउन प्रयास गरेको भए पनि साँझसम्म सफल भएको छैन।
प्रहरीले बस चालक चितवन जिल्ला भरतपुर उपमहानगरपालिका ५ बस्ने ४१ वर्षीय सोमबहादुर प्रजा र बसलाई नियन्त्रण गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।


