२०८२ फागुन २० बुधवार , ०८:५७:३० बजे

Sajhamanch
'

दर्जनौं उम्मेदवारहरु जो आफ्नै लागि मतदान गर्न पाउँदैनन्

बुधवार, फागुन २०, २०८२

झापा । भोलि फागुन २१ गते हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनमा केही प्रमुख नेताहरू सहित जदर्ननौं उम्मेदवारहरुले आफ्नै जीतका लागि मतदान गर्नबाट वञ्चित भएका छन् ।

स्थायी बसोबास भएको क्षेत्रको मतदाता सूचीमा नाम भएका उम्मेदवारहरु जो अर्को क्षेत्रको उम्मेदवार बनेका छन्, उनीहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा मुलुकको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । सोही सुविधा उपभोग गर्दै नेताहरू आफ्नो मतदाता नामावली नभएका क्षेत्रबाट समेत उम्मेदवार बनेका हुन् ।

आफूलाई मतदान गर्न नपाउने नेताहरूले सम्बन्धित क्षेत्रबाट पार्टीका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई मतदान गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली भने सूर्यविनायक नगरपालिका बालकोटमा छ । भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्दै आएका छन् ।

यसपटक पनि उनले भक्तपुर–२ का आफ्ना उम्मेदवारलाई र समानुपातिकमा पार्टीलाई मतदान गर्नेछन् । २०७९ को निर्वाचनमा उनी झापा–५ बाट निर्वाचित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पनि आफूलाई मत दिन पाउने छैनन् । उनी रुकुम पूर्वबाट उम्मेदवार छन् भने उनको मतदाता नामावली भने चितवनमा छ ।

दाहालले चितवन–३ को भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । दाहाल २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए ।

त्यस्तै सर्लाही–४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगनकुमार थापाले पनि आफैंलाई मतदान गर्ने छैनन् । उनले काठमाडौं–४ मा पर्ने मैतीदेवीस्थित मन्दिर छेउमा रहेको केन्द्रमा मतदान गर्नेछन् ।

गत आमनिर्वाचनमा उनी काठमाडौं–४ बाट उम्मेदवार भई विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गर्दै आएका छन् । जबकि उनी चितवन–२ का उम्मेदवार हुन् ।

यसपटक पनि उनले महाँकालचौर केन्द्रबाट मतदान गर्ने भएकाले आफूलाई मतदान गर्न पाउने छैनन् । गत निर्वाचनमा पनि उनी चितवन–२ बाट निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफूलाई मत दिन पाउने छैनन् । शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् । नामावली काठमाडौंमै भएकाले उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल तनहुँ–२ ढोरफेदीका मतदाता हुन् । उनी काठमाडौं–५ बाट उम्मेदवार भएका छन् । उनले पनि आफूलाई मत हाल्न पाउने छैनन् । पौडेल २०७९ को निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित भएका थिए ।

सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । किनकि श्रेष्ठ गोरखा सिरानचोक गाउँपालिका जौबारीका मतदाता हुन् ।

रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१ का उम्मेदवार छन् । काठमाडौंको मतदाता भएकाले उनले पनि आफूलाई मत दिन पाउने छैनन् । उनले टोखास्थित चण्डेश्वर माध्यमिक विद्यालयमा मतदान गर्दै आएका छन् ।

प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी तनहुँ–१ बाटै निर्वाचित भएका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं–१ मा उम्मेदवार दिएका छन् । जबकि उनी ललितपुर–१८, भैंसेपाटीका मतदाता हुन् । जसले गर्दा मिश्र पनि आफूलाई मत दिनबाट वञ्चित हुनेछन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ का उम्मेदवार हुन् । तर, उनी मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसका मतदाता हुन् । मतदाता सूचीमा आफ्नो नाम नभएको क्षेत्रका उम्मेदवार भएकाले उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

अन्य साना दलका धेरै उम्मेदवारहरुले पनि आफूलाई मतदान गर्न पाउने अवस्था छैन । मतदाता सूचीमा आफ्नो नाम नभएको क्षेत्रका उम्मेदवार भएकाले दर्जनौं उम्मेदवारले आफ्रंलाई जिताउन मत दिन पाउने नभएको हो ।

सम्बन्धित खबर