२०८२ फागुन १७ आइतवार , ११:४२:५३ बजे

Sajhamanch
'

‘देशलाई संकट परेको बेलामा समाधान गर्नसक्ने मध्यमार्गी पार्टी नेपाली कांग्रेस’ : सरिता प्रसाईं

आइतवार, फागुन १७, २०८२

बिर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर २ का उम्मेद्वार सरिता प्रसाईले इतिहास, वर्तमान र देश बनाउने भविष्यका योजना हेरेर सुझबुझका का साथ नेपाली कांग्रेसलाई मत दिन आम मतदातामा अपिल गर्नुभएको छ ।

झापा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य प्रसाईले यस्तो अपिल गर्नुभएको हो ।

पुराना राजनीतिक दललाई गाली गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोज्ने शक्तिहरुतर्फ संकेत गर्दै उहाँले राजनीतिक योगदान, नीति, सिद्धान्त, विचार र देश बनाउने खाका प्रस्तुत गरेर विचारको राजनीति गर्न सुझाव पनि दिनुभयो ।

जेन-जी विद्रोहको पृष्ठभूमि, जेन-जी पुस्तालाई बद्नाम बनाउन आन्दोलनमा भएको घुसपैठ र त्यसयता देखिएका राजनीतिक संकेतले नेपाल भू-राजनीतिक संकटमा फस्ने जोखिम रहेकोतर्फ सचेत रहन आग्रह गर्दै कांग्रेस नेतृ प्रसाईले विगतदेखि वर्तमानसम्म देशलाई संकट परेको बेलामा समाधान गर्नसक्ने मध्यमार्गी पार्टी नेपाली कांग्रेसमात्रै रहेकोले फागुन २१ गते हुने निर्वाचनबाट कांग्रेसलाई ठूलो शक्ति बनाउन आह्वान गर्नुभयो ।

‘भाषण र गाली गर्न त सबैलाई आउँछ’ उहाँले भन्नुभयो- ‘बोल्न पाउने, विचार, नीति र सिद्धान्त राख्न पाउने ब्यवस्थाका लागि कांग्रेसले ९ दशकदेखि संघर्ष गरेको सम्झनुस् ।’

मुलुकको समृद्धिका लागि स्वास्थ्य, सञ्चार, शिक्षा, अर्थनीति कस्तो बनाउने भन्ने बहस गर्न आग्रह गर्दै उहाँले कांग्रेसले यस विषयमा स्पष्ट नीति अघि सारेको पनि बताउनुभयो ।

पार्टी बदलेर देश बदल्ने यात्रामा नयाँ नेतृत्व, नीति र विचार लिएर आएको कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै उहाँले जेन-जी विद्रोहको भावना बमोजिम सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, समानुपातिक उम्मेद्वारहरु सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, मनुमाया विश्वकर्मासहित विभिन्न तहका कार्यकर्ता एवं शुभचिन्तकहरुको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित खबर