२०८२ फागुन १२ मङ्गलवार , ११:२२:२६ बजे

Sajhamanch
'

वार्षिकोत्सवमा शिवगञ्जको भानु माविले १४ जना विद्यार्थीलाई प्रदान गर्यो अवार्ड

मङ्गलवार, फागुन १२, २०८२

शिवसताक्षी । भानु माध्यमिक विद्यालय शिवगञ्जले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ए प्लस ग्रेड ल्याउने १४ जना विद्यार्थीलाई विशेष अवार्ड प्रदान गर्दै सम्मान गरेको छ ।

विद्यालयको ५८औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर पारेर आयोजित कार्यक्रमका बीच उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई ‘भानु मावि अवार्ड २०८१’ प्रदान गरिएको हो ।

समारोहका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले अवार्ड वितरण गर्दै सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनु गौरवको विषय भएको बताउनु भयो । उहाँले विद्यार्थीको सफलता विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सहकार्यको परिणाम भएको पनि प्रष्ट पार्नुभयो ।

यस्तै, २०८० सालको एसईई परीक्षामा सर्वाधिक जीपीए ल्याई नगरपालिका टप गर्ने विद्यार्थी मिराक हाङ चेम्जोङ र प्रमिला उप्रेतीलाई पनि विशेष रूपमा सम्मान गरिएको छ ।

कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न तहका उत्कृष्ट विद्यार्थीलाई स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति, टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति प्रदान गरियो ।

यस्तै प्राविधिक धारतर्फ जितेन्द्रराज चेम्जोङ– सरस्वती तुङ्गवाङफे छात्रवृत्ति र मनकुमार इजम ‘मुन्ना भाइ’ स्मृति छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक डामकुमार कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार जितेन्द्रराज चेम्जोङ–सरस्वती तुङ्गवाम्फे चेम्जोङ छात्रवृत्ति अक्षय कोषमा १ लाख ११ हजार १११ रुपैयाँ, स्वर्गीय भानुभक्त–टिकादेवी संग्रौला स्मृति छात्रवृत्ति कोषमा १ लाख ५५ हजार ११० रुपैयाँ, टेकनाथ–भगीरथ मैनाली छात्रवृत्ति कोषमा १ लाख १ हजार १११ रुपैयाँ तथा स्वर्गीय मनकुमार इजम ‘मुन्ना भाइ’ स्मृति अक्षय कोषमा १ लाख १ हजार रुपैयाँ सञ्चित छ ।

कार्यक्रमका अवसरमा सो विद्यालयका शिक्षक भीमाकुमारी खत्रीद्वारा लिखित ‘अदृश्य पीडा’ नामक नाटक मञ्चन गरिएको थियो । पूजा चापागाईंको निर्देशनमा प्रस्तुत नाटकले विद्यालय उमेरका बालबालिकामा लागू औषधको दुष्प्रभावबारे सशक्त सन्देश दिएको थियो । नाटकले धेरै अभिभावक तथा विद्यार्थीलाई भावुक बनाएको पाइएको थियो ।

यसै अवसरमा विद्यालयमा नर्सिङ कक्षाको समेत उद्घाटन गरिएको छ । नगरप्रमुख थोप्राले नर्सिङ कक्षाको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा निरन्तर प्रगति गरिरहेको बताउनु भयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र इजमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहायक प्रधानाध्यापक टिकाप्रसाद घिमिरेले शाब्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका लेखा प्रमुख गणेश ढुंगेलले गर्नुभएको पत्रकार विनोद सापकोटाले जनाउनु भएको छ ।