२०८२ माघ २७ मङ्गलवार , १२:२४:३८ बजे

Sajhamanch
'

विध्वङ्स मच्चाउनेहरुको आरोप जनताले पत्याएका छैनन् : पूर्वप्रधानमन्त्री ओली

सोमवार, माघ २६, २०८२

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरुले आफू माथि लगाएका आरोप जनताले पत्याउन नसक्ने दावी गर्नु भएको छ ।

आज सोमबार झापाको गौरीगञ्जस्थित देवीगञ्जमा मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेन–जीहरुको आन्दोलनमा अपराधिक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधिक तत्वहरुले उल्टै आफू माथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताउनु भएको हो ।

तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्याउँदै एमाले अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधिक तत्वहरुले नै बनाएको धारणा राख्नुभयो ।

ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दावीसमेत गर्नुभयो । गोवर र गुईंठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले यथार्थ तोडमोड गरेको भन्दै उहाँले आपत्ति पनि जनाउनु भएको छ ।

नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रका बासिन्दासँगको छलफलमा केन्द्रित रहनु भएको हो ।

स्थानीयले आफ्नो भूगोलमा टेलिफोनको टावर निर्माण गरिदिन माग गरेका छन् । मोवाइलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताउनुभयो ।

गुईंठाको विषय तोडमोड नगर्न गौरीगञ्जबासीको चेतावनी

एमाले अध्यक्ष ओली मतदाता भेटका क्रममा रहँदा पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुईंठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन् ।

स्थानीयले गोबरको सही उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केही व्यक्तिहरुले तोडमोड गरेर भ्रम छरेको उनीहरुको जिकिर छ ।

‘गोवर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोवर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भन्नुभयो, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’

पूर्वप्रधानमन्त्री ओलीले आफ्‌नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उहाँले प्रश्न पनि गर्नु भयो, ‘हुम्लामा कस्ले मोटर बाटो लग्यो, दैलेखको ग्यास कसले उत्खनन गरायो, मदन भण्डारी राजमार्ग कसले विस्तार गर्‍यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फचाहिँ केही नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’

मतदातासँग संवाद गर्दै ओली

चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले आज गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरुसँग र आज दिनैभर गौरीगञ्जका विभिन्न टोल पुगेर मतदातासँग संवाद गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगेर मतदातासँग भलाकुसारी गर्नु भएको छ ।

सम्बन्धित खबर