२०८२ माघ २४ शनिवार , १०:५३:०७ बजे

Sajhamanch
'

कर्तब्य पालनकै शिलशिलामा सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरेको निधन

शनिवार, माघ २४, २०८२

विराटनगर । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका डीआईजी स्तरीय समन्वय बैठक बसिरहेको समयमा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। घिमिरे सशस्त्र प्रहरी बल मोरङका प्रमुख हुन् ।

हिजो शुक्रबार दिउँसो मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

उच्च रक्तचापका कारण उनी ढलेको र बचाउन नसकिएको अस्पतालले जनाएको छ। बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो। तर चिकित्सकहरुको प्रयास सफल हुन नसकेको बताइएको छ ।

उनको शव अस्पतालमा नै राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गरेका छन्। ‘बैठककै क्रममा उहाँ अचानक ढल्नु भएको थियो’ उनले भने, ’त्यसपछि तत्काल उपचारका लागि लगिएको भएपनि अस्पताल र चिकित्सकको प्रयास सफल भएन।’

नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।

सम्बन्धित खबर