२०८२ माघ २२ बिहिवार , १०:२५:५३ बजे

Sajhamanch
'

काठमाडौंमा रहेका जिल्लाका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न एमाले अध्यक्ष ओलीको आह्वान

बिहिवार, माघ २२, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका पार्टीका कार्यकर्ताहरुलाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन आह्वान गर्नु भएको छ ।

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान र मतदाताहरुलाई निर्वाचनको मर्म बुझाउन आह्वान गर्नु भएको हो ।

‘तपाईंहरु विभिन्न पेशा व्यावशाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘समय ब्यवस्थापन गरेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा माहोल बनाउनुहोस् । आफन्त भेट्नुहोस् । साथीभाइसँग बस्नुहोस् । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरु चिर्नुहोस ।’

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्वीकार नगर्ने पनि प्रष्ट पार्नुभएको छ । ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें, यो कुनै हालतमा पनि स्विकार्य हुदैन’ पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ भने निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन र ! हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा ?’ सरकारलाई उहाँको प्रश्न थियो ।

एमाले अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनुपर्ने बताउँदै ‘निर्वाचनको तयारी निष्पक्ष, मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन । त्यसमा सबै चनाखो हुनुहोस्’ भनी कार्यकर्तालाई सचेत निर्देशन पनि गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिनुभएको छ । ‘विभिन्न फिरंगीहरु आउन सक्छन् । त्यस्तालाई चिन्नुहोस्’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले गरेका विकास निर्माणका काम, सुशासनका काम, जनचेतनाका काम जनतालाई भन्नुहोस् । मतदाताको मन जित्ने गरी काम गर्नुहोस्’ कार्यकर्तालाई उहाँको सुझाव थियो ।